काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका वा नभएका सबै नागरिकलाई समेट्दै सिङ्गो नेपाली समाज एउटा नयाँ युगतर्फ प्रवेश गरेको बताएका छन् । पहिलो सामाजिक सुरक्षा दिवस र योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको मंगलबार आयोजित विशेष समारोहमा शुभारम्भ गर्दै उनले भर/अभरमा सुरक्षा दिने र श्रम गरेवापत उचित पारिश्रमिक दिने राज्य नियन्त्रणकारी संस्था मात्रै नभई आफ्ना नागरिकको अभिभावक भएको स्पष्ट पारे ।

वृद्धभत्ता वितरण शुरु गर्दा कनिका छरेको, ढुकुटी रित्याएको र आर्थिक अनुशासन भङ्ग गरेको जस्ता अनावश्यक र गैरजिम्मेवार आरोप लगाइने गुनासो गर्दै प्रधानमन्त्री ओलीले भने, “कतिले यसलाई बुझेनन् । कतिले यसलाई कम्युनिष्ट सर्वसत्तावादी कार्यक्रम ठाने । कतिले यसलाई बुझेर पनि बुझ पचाए ।”
सरकारी सेवामा रहेकालाई ‘मान र मानो’ दुवै दिने तर अन्य सेवामा रहेकालाई बेवास्ता गरिने प्रचलनलाई सुधार्ने प्रयास थालिएको जानकारी दिँदै उनले श्रमको सम्मान गर्न र सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्न आधुनिक सभ्य समाजअनुरुप सिङ्गो समाज मिली सबैको संरक्षण गर्ने प्रणालीमा प्रवेश गरिएको बताए । प्रधानमन्त्रीले भने, “यो नयाँ प्रणाली, लक्षित उमेर समूह वा समुदायलाई मात्र हैन, सबैका लागि हो । यो ज्याला रोजगारी हुने र नहुने युवा हुन् वा वृद्ध, स्वस्थ्य हुन् कि बिरामी, बालबच्चा भएका वा नभएका, आम्दानी भएका वा नभएका सबैलाई हो ।” वर्तमान सरकार श्रमजीवी जनताको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा तल्लीन रहेको स्पष्ट गर्दै उनले भने, “सरकार हरायो, कहाँ छ, के गर्दैछ भन्नेलाई आज म भन्न चाहन्छु, सरकार यहाँ छ, श्रमजीवी जनताको बीचमा छ ।”
प्रधानमन्त्री ओलीले समाज निराशामा रहेको अवस्थामा हौसला र सपना देखाउनुपर्नेमा जोड दिँदै शासनको बागडोर हातमा पर्नासाथ ती सपना र आशलाई मूर्तता दिने काम गर्नुपर्ने बताए । गर्भमा रहेदेखि नहुर्केसम्म शिशु संरक्षण र स्याहारको ‘सुनौलो एक हजार दिन’को अवधारणा आफूहरुले नै ल्याएको जानकारी दिँदै प्रधानमन्त्रीले बाल संरक्षण अनुदान, मातृत्व संरक्षण सुविधा, सबैका लागि शिक्षाजस्ता कार्यक्रम यसपछिका शृङ्खला हुन् भने ।
सामाजिक साझेदारीमा आधारित अभियानका रुपमा सामाजिक सुरक्षाका योजना शुरुआत गरिएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, “सामाजिक सुरक्षा भनेको दान दातव्य हैन, न त यो बचत हो । यो एउटा ऐक्यबद्धतामा आधारित प्रणाली हो । ‘ढुकुटीबाट झिक्दै–बाँड्दै हैन, ढुकुटीमा भर्दै–भरथेग गर्दै’ अघि बढ्ने विधि हो ।” सामाजिक सुरक्षाका योजनाले ज्यालाजीवी, जङ्गी/निजामती र स्वरोजगारीमा रहेका सबैलाई समेट्ने जानकारी दिँदै उनले यसले औपचारिक वा अनौपचारिक श्रम क्षेत्रमा कार्यरत सबै श्रमिकलाई समेट्छ भने । उनले स्पष्ट पारे, “अब सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर पर्दैनन् । आजदेखि शुरु हुने सामाजिक सुरक्षाका योजना मूलतः ज्याला रोजगारी र स्वरोजगारीमा रहेकाप्रति केन्द्रित छ ।”
सामाजिक सुरक्षा कोषले तय गरेको ‘सहभागिता, योगदान र सामाजिक सुरक्षा’ नारामा यसको विधि, प्रक्रिया र दायरा स्पष्ट प्रतिविम्बन भएको बताउँदै उनले श्रमजीवी जनताका लागि शुरु गर्न लागिएको चार सुरक्षाका योजनाले श्रमशक्ति किन्ने र श्रमशक्ति बेच्ने दुवै पक्षलाई हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।






