एटा संवाददाता
अल्डरसट । एनआरएनए युकेले नेपालको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, सांसद नविना लामा, पूर्वसांसद तारादेवी राई, राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष कमला थापालाई एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरेको छ ।

गत बिहीबार २९ नोभेम्बर बेलुकी अल्डरसटस्थित एम्पायर हलमा उनीहरुलाई स्वागत, सम्मान तथा भेटघाट गरिएको हो । सहभागी नेतृहरुसँग अन्तत्र्रिmयासमेत गरिएको कार्यक्रममा प्रमुख अतिथि उपसाभामुख डा. तुम्बाहाम्फेले अहिले संसदमा विभिन्न विषयहरुमा बहस भइरहेको भन्दै संविधान कार्यान्वयनको क्रममा रहेको बताइन् । उनले संविधानसँग सम्बन्धित ऐन कानुनहरु बनिरहेको बताउँदै मौलिक हकसँग जोडिएका १६ वटा ऐन बनिसकेको उल्लेख गरिन् । त्यस्तै, स्थानीय, प्रदेश, केन्द्रसँग जोडिएका ऐन कानुन समयमा नै बनाउनु पर्ने दायित्व रहेको बताइन् ।
अहिलेको संविधान लचकदार भएकोले संविधानसँग बाँझिएका ऐनहरुलाई परिमार्जन गर्न सकिने जनाइन् । साथै, उनले गैरआवासीय नेपालीहरुले उठाउँदै आएको नागरिकता निरन्तरता कुरा र नागरिकता संशोधनसम्बन्धी ज्ञापनपत्रलाई आफूले विषयगत समितिमा बुझाउने विश्वास व्यक्त गरिन् । विदेशमा बस्ने नेपालीहरुले दिएको मायालाई सम्मान गर्दै गैरआवासीय नेपालीहरुको मुद्दाहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् । साथै, उनले नयाँ पुस्तामा नेपालीपन जोगाइराख्न चुनौती भएकोले सबै सचेत रहन अनुरोध गरिन् ।
त्यस्तै, विशेष अतिथिको आशनबाट प्रतिनिधिसभाकी सांसद नविना लामाले नेपाली जनताले निरङ्कुशताविरुद्ध लडेको कारण सुन्दर संविधान प्राप्त भएको स्मरण गर्दै नेपाल १२५ जातिको फूलबारी भएको बताइन् । उनले अहिलेको संविधानले सबैको जातीय भाषा, धर्म र सांस्कृतिक अधिकारको संरक्षण गरेको जनाइन् । साथै, उनले आमाको नाममा नागरिकता र पैतृक सम्पत्तिमा महिलाको समान अधिकार महिला आन्दोलन उपलब्धि भएको बताइन् । संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्नका लागि सबै पार्टी गंभीर रहे तापनि दलगत र व्यक्तिगत स्वार्थ भने चुनौतीको रुपमा रहेको दाबी गरिन् । अहिलेको दुईतिहाईको सरकारप्रति जनताको अपेक्षा र विश्वास छ र आफूहरु दिगो विकासका लागि विश्वासघात नर्गर्ने विश्वास व्यक्त गरिन् । उनले ब्रिटिस गोर्खाको कारण नै नेपाल र बेलायतको गहिरो सम्बन्ध रहेको स्मरण गर्दै संविधानले व्यवस्था गरेको नागरिकताको व्यवस्थालाई कार्यान्वयन गर्ने जिकिर गरिन् । साथै, आफू बेलायतको सिस्टमबाट प्रभावित भएको भन्दै गैरआवासीय नेपालीहरुको सहयोगबाट सुखी र समृद्ध नेपालको परिकल्पना गर्न सकिने बताइन् ।
कार्यक्रममा पूर्वसांसद तारादेवी राईले सामाजिक संघसंस्थामा महिलाहरुको सहभागिता रहेकोमा खुसी व्यक्त गर्दै राजनैतिक चेतना नभएकाहरु संघसंस्थामा आवद्ध हुनै नसक्ने दाबी गरिन् । उनले अहिलेको संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाहरुको सहभागिता सुनिश्चित गरेको भएतापनि अहिले स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३३ प्रतिशत महिलाहरु नेतृत्वमा पुगेको बताइन् । तर, संसदमा भने अझै ३३ प्रतिशत नपुगेको र अबको ५ वर्षमा हरेक क्षेत्रमा ५० प्रतिशत महिलाहरुको सहभागिता हुने दाबी गरिन् । उनले नेपालमा भएको महिला हिसांको प्रसंग कोट्याउँदै हिसां घटाउने सरकारले हरदम प्रयास गरिरहेको र छिट्टै हत्यारा कठघरामा आउने विश्वास व्यक्त गरिन् । उनले गैरआवासीय नेपालीहरु स्थायीरुपमा नेपाल फर्केको ३ महिनापछि राजनैतिक अधिकार प्राप्त हुने जिकिर गरिन् । गैरआवासीय नेपाली र भूपू गोर्खा अधिकार राष्ट्रिय मुद्दा भएकोले आफूहरु गम्भीर भएको जनाइन् ।
त्यस्तै, यसअघि नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको अध्यक्षसमेत रहेर हाल नेपाल फर्केकी राष्ट्रिय जनमुक्ति पार्टीकी उपाध्यक्ष कमला थापाले अतिथिको आशनबाट ‘अहिलेको संविधानले गैरआवासीय नेपालीहरुका लागि दिन लागेको राजनैतिक अधिकारबिनाको नागरिकता होइन परिचय पत्र हो’ भन्दै हरेक कुरा राजनीतिसँग जोडिएको हुन्छ । वंशजको आधारमा राजनैतिक अधिकारसहितको नेपाली नागरिकता निरन्तरताका पाउनु पर्छ, भन्ने मुद्दा आफूहरुलाई उठाउँदै आएको बताइन् । उनले ‘देश रेमिट्यान्सले चलेको छ’ भन्दै विदेशमा बस्ने नेपालीलाई विदेशी बनायौं भने पूँजी पलायन हुने दाबी गरिन् । गैरआवासीय नेपाली नगारिकतालाई राज्यले संबोधन नगरे सरकारको ‘सुखी र समृद्ध नेपाल’ को परिकल्पना गर्न नसकिने जनाइन् । साथै, उनले सरकारले भूतपूर्व गोर्खाहरुलाई विदेशी बनाउन खोजेको आरोपसमेत लगाइन् ।
एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यले उपसभामुखलगायत अतिथिहरुलाई स्वागत गर्दै बेलायत भ्रमणको सफलताको कामना गरे । साथै, उनले नेपालमै बस्न, नेपालसंग जोड्न, नेपालको आर्थिक उन्नति गर्न र नेपालीहरुलाई नेपाल फर्काउने नेपाल सरकारले भूमिका खेल्नु पर्नेमा जोड दिए । नेपाल सरकारको स्पष्ट नीति अभावका कारण थुप्रै भूतपूर्व गोर्खालगायत नेपालीहरुले आफ्नो सम्पत्ति विदेश ल्याएको सन्दर्भ कोट्याउँदै त्यसलाई सहज गर्न अनुरोध गरे । उनले ३ पुस्तालाई दिने भनिएको नागरिकताको कुनै अर्थ नरहने समेत बताए । गैरआवासीय नेपाली संघले ८० देशमा संजाल बनाउन सफल भएको बताउँदै एनआरएनए इनभेष्टमेन्टमार्फत नेपालमा लगानी भित्र्याउन खोजिएको र नेपाल सरकारसंग पार्टनरको रुपमा काम गर्न चाहेको बताए । सो अवसरमा उपसभामुख डा. सुवेदीलाई नागरिकता विधेयक संशोधनसम्बन्धी मागसहितको ९ बुंदे ज्ञापन पत्र बुझाएका थिए । सो ज्ञापन पत्रलाई एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपानेले पढेर सुनाएका थिए ।
कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो प्रदानसमेत गरिएको थियो । त्यस्तै, एनआरएनए ट्राफिक व्यवस्थापन संयोजक थर्क सेनले सबै अतिथिहरुलाई ट्राफिक पुस्तिका हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष पुनम गुरुङले स्वागत मन्तब्य प्रकट गर्दै, नेपालको संविधानले कम्तीमा पनि ३३ प्रतिशत महिलाहरुले हरेक क्षेत्रमा प्रतिनिधित्व गर्न पाउने व्यवस्था गरेको तर कतिपय स्थानमा अझै पनि महिलाहरुको सहभागिता पुग्न नसकेको जनाइन् । उनले अहिले नेपालमा महिलाप्रति हिंसा बढ्दै गएको र सरकार त्यसमा त्यति गंभीर नदेखिएको आरोप लगाइन् । उनले आफूहरु विभिन्न कारणले विदेशमा आएर बसे तापनि हाम्रो मन र मष्तिष्क पुरै मातृभूमि नेपालप्रति छ भन्दै ‘नेपाल आमा रोए हामी पनि रुन्छौं, नेपालले प्रगति गरे हामी गौरव गर्छौं’ भनिन् । साथै, उनले एनआरएनए युकेले गरेका हरेक गतिविधिकाबारे बोलेकी थिइन् ।
विभिन्न व्यक्तिहरुले अतिथिहरुलाई विभिन्न जिज्ञासा राखिएको कार्यक्रमको अन्त्यमा अध्यक्ष योगकुमार फगामीले उपासभामुख डा. तुम्बाहाम्फेलगायत विशेष अतिथि, अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि र सहभागीहरुलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा एनआरएनए पूर्वआईसीसी सदस्य विश्वासदीप तिगेला, रोड सेफ्टी संयोजक थर्क सेन, बाग्लुङ समाज युकेका अध्यक्ष छविमाया पुन, ग्रेटर रसमुर नेपाली कम्युनिटी युकेका अध्यक्ष जीव बेल्वासे, ओकिङ्ग नेपाली कम्युनिटीका आशा राई, किरात राई यायोक्खा महिला कमिटीकी रोजी राई, तमुधिं युकेका उपाध्यक्ष हित काजी गुरुङ, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष ले.रि. च्रन्द्र गुरुङ, किरात याक्थुङ्ग चुम्लुङ्गका वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङ्ग, गोर्खा च्यानलकी बिमला सेने, गोर्खाली समाज युके उपाध्यक्ष हेम गुरुङ, फोनिज युकेकी अध्यक्ष प्रमिला राई, सहारा युकेका अध्यक्ष मिन गुरुङ, पूर्वअनेरास्ववियू केन्द्रीय उपाध्यक्ष भक्त गुरुङ, यती नेपाली एशोसिएसनका पूर्वअध्यक्ष उमेशराज मोक्तानलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र महिला नेतृहरुको बाक्लो उपस्थिति रहेको थियो ।
एनआरएनए युकेका अध्यक्ष योग कुमारफगामीको अध्यक्षता र उपाध्यक्ष सुशीला राईको संयोजन तथा सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।






