लन्डन । राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूकेले नेपालका बाढीपीडितका लागि सहयोग अभियान सुरु गरेको छ ।
५० हजार पाउन्ड (नेपाली १ करोड रुपैयाँबराबर) संकलन गर्ने उद्देश्यले गो फन्ड मिमार्फत बुधबारदेखि नै सहयोग अभियान थालिएको हो । यो समाचार तयार पार्दासमेम साढे ४ हजार पाउन्ड संकलन भइसकेको छ । जसमा एनआरएनए यूकेका अध्यक्ष पुडासैनीले १ हजार पाउनु दान गरेका छन् ।
बुधबार बिहान तिब्बतबाट आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ । उक्त अपूरणीय जनधनको क्षतिप्रति अध्यक्ष पुडासैनीले गहिरो दुःख व्यक्त गरेका छन् ।
‘बाढीपहिरोमा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। विस्थापित तथा प्रभावित सम्पूर्ण नागरिकप्रति हार्दिक समानुभूति प्रकट गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्,’यस विपद्को समयमा आवश्यक राहत तथा सहयोगका लागि स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आ–आफ्नो ठाउँबाट सक्दो योगदान गर्न हार्दिक अनुरोध गर्दछु।’
गैरआवासीय नेपालीहरूले प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको जोड दिँदै अध्यक्ष पुडासैनीले यस मानवीय अभियानमा साथ दिन सम्पूर्ण गैरआवासीय नेपालीहरूमा हार्दिक अपिल गरेका छन् ।
एनआरएनए केन्द्रीय राहत समिति र नेपाल सरकारबीच आवश्यक समन्वयमा राहत तथा उद्धारका कार्यहरू अघि बढिरहेको उनको भनाइ छ ।






