देब घले – बेलायत।
क्याम्बरली नेपाली गोर्खा एसोसिएसन (सिएनजीए) ले आफ्नो नियमित मासिक पदयात्रा तथा पिकनिक कार्यक्रम २३ अगस्ट २०२६ का दिन सुन्दर प्राकृतिक स्थल डेभिल्स पञ्च बाउल, हिन्दहेडमा सफलतापूर्वक सम्पन्न गरेको छ।
स्वास्थ्य, शारीरिक तन्दुरुस्ती, मित्रता तथा सामुदायिक एकता प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा करिब ५० जना सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूलाई उनीहरूको रुचि र क्षमताअनुसार १० किलोमिटर पदयात्रा समूह, ५ किलोमिटर पदयात्रा समूह र सहज तथा प्राकृतिक दृश्यावलोकन पदयात्रा समूह गरी तीनवटा समूहमा विभाजन गरिएको थियो।
पदयात्राको कार्यक्रम सम्पन्न भएपश्चात् सबै सदस्यहरूले सामूहिक रूपमा पिकनिकको आनन्द उठाएका थिए। क्याम्बरली नेपाली महिला संघ (सिएनजीए) द्वारा स्वादिष्ट खाना, विभिन्न परिकार तथा खाजाहरूको उदारतापूर्वक व्यवस्था गरिएको थियो, जसको उपस्थित सबै सहभागीहरूले उच्च प्रशंसा गरेका थिए।
उक्त कार्यक्रम संस्थाका अध्यक्ष मेजर गणेश गुरुङ, डा. सुजी राना तथा ट्रष्टी मेजर टेक गुरुङको नेतृत्व र सफल आयोजनामा सम्पन्न भएको हो। उहाँहरूको विशेष समर्पण र मेहनतका कारण कार्यक्रम अत्यन्त सुरक्षित, रमाइलो तथा भव्य रूपमा सफल हुन पुग्यो।
कार्यक्रममा अध्यक्ष मेजर गणेश गुरुङ, सल्लाहकार मेजर सोनाम शेर्पा, क्याप्टेन देब घले, क्याम्बरली नेपाली महिला संघकी अध्यक्ष श्रीमती तुलसी घलेसहित सिएनजीए र सिएनडब्लूए का पदाधिकारी, सदस्यहरू एवं उहाँहरूको परिवारजनहरूको विशिष्ट उपस्थिति रहेको थियो। क्याम्बरली नेपाली गोर्खा एसोसिएसन यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, आयोजक तथा स्वयंसेवकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ।
यस्ता नियमित कार्यक्रमहरूले समुदायबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै सबैलाई स्वस्थ, सक्रिय र सकारात्मक जीवनशैली अपनाउन सदैव प्रेरित गर्दै आएको छ। “सँगै हिँडौँ, सँगै अघि बढौँ, र सँगै मिलेर हाम्रो समुदायलाई अझ बलियो बनाऔँ” भन्ने सकारात्मक सन्देशसहित कार्यक्रम सम्पन्न भएको छ।







