नयाँ दिल्ली । भारतको झारखण्डमा नक्सलवादीले गरेको आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ । सरायकेला खरसान्वा जिल्लामा प्रहरीलाई लक्षित गर्दै नक्सलवादीले आक्रमण गरेका हुन् ।
पश्चिम बंगालसँग जोडिएको तिरुलडिह थाना क्षेत्रमा गस्तीका लागि एउटा गाडिमा गएका प्रहरीहरु कुकड साप्ताहिक हाटबाट फर्किरहेका बेला बाटोमा ढुकेर बसेका नक्सलवादीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । त्यस क्रममा पाँच जना प्रहरीको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् । पछिल्लो एक महिनामा यो जिल्लामा नक्सलवादीले आक्रमण गरेको यो चौथो पटक हो ।
झारखण्डका प्रहरी प्रवक्ता एमएल मिणाले बंगालको सीमा क्षेत्रबाट आएका करिब एक दर्जन नक्सलवादीले पुलिसको गाडि रोकेर अन्धाधुन्ध गोली प्रहार गरेको बताए । यस क्रममा गाडिमा रहेका सबै प्रहरीको मृत्यु भएको थियो ।






