लन्डन । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्याम्ब्रियन पट्रोल–२०२६’ मा स्वर्ण पदक जितेको छ । वेल्सको ब्रेकनमा असोज २१ देखि २२ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक हासिल गरेको हो ।
बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति महारथी अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको थियो । प्रतियोगितामा बेलायतसहित ३५ राष्ट्रका १ सय ३० टोलीले सहभागिता जनाएका थिए । सन् १९६० देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको यो अभ्यासमा नेपाली सेना सन् २०१४ देखि सहभागी हुँदै आएको छ ।

अभ्यासमा सहभागी टोलीले करिब ७० पाउन्ड तौल बराबरको उपकरणसहित ४० माइल दूरी दुई दिनभित्र पार गर्नुपर्ने हुन्छ । त्यस क्रममा हतियार सञ्चालन, सूचना संकलन, घाइते तथा बिरामीको व्यवस्थापनलगायत विविध सैनिक कलाको परीक्षण गरिन्छ ।
यसअघि पनि नेपाली सेनाले उक्त प्रतियोगितामा सन् २०१७, २०१९, २०२४ र २०२५ मा स्वर्ण पदक जितेको थियो ।







