काठमाडौंको । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस शुक्रबार बिहान सडकबाट करिब २०० मिटर तल खसेको हो । बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएकोमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकमध्ये चार जना बालबालिका छन्। दुर्घटनामा मृत्यु हुनेमा ममता तिवारी, अशिम कँडेल, नामथर नखुलेका दुई बालिका र पोखरा–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारी रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाबुराम तिवारी उपचारका लागि बसमा लिफ्ट मागेर चढेका थिए।
दुर्घटनामा घाइते भएका १४ जनामध्ये तीन जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






