सातवटै प्रदेशद्वारा २ अर्ब ५९ अर्ब ६० करोड बजेट सार्वजनिक [कुनको कति ?]

SHARE:

काठमाडौं । सातवटै प्रदेशले आइतबार आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष प्रदेशहरुको कूल बजेट २०.३३ प्रतिशतले बढेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार असार १ गतेभित्र सबै प्रदेशले बजेट ल्याउनुपर्ने बाध्यता छ । आगामी आर्थिक वर्षका लागि सातवटै प्रदेशको कूल बजेट २ अर्ब ५९ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

गत वर्ष प्रदेशहरुले कूल २ खर्ब ६ अर्ब ८० करोड रुपैयाँको बजेट ल्याएका थिए, जुन बजेट अहिले कार्यान्वयन भइरहेको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश नं ३ ले सबैभन्दा ठूलो बजेट ल्याएको छ । यस प्रदेशले आगामी आर्थिक वर्षमा ४७ अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा यस प्रदेशको बजेट ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ बजेट रहेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश नं १ को बजेट सबैभन्दा ठूलो थियो । तर, आगामी आर्थिक वर्षमा प्रदेश नं ३ ले उछिनेको छ । आगामी वर्ष प्रदेश नं १ ले ४२ अर्ब २० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सबैभन्दा सानो बजेट सुदुरपश्चिमको रहेको छ । आगामी आर्थिक वर्षमा सुदुर पश्चिम प्रदेशले २८ अर्ब १६ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

यस वर्ष कर्णाली प्रदेशले चालु खर्चको तुलनामा पूँजिगत खर्च बढी राखेर बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा कर्णालीले २१ अर्ब २९ करोड ३७ लाख रुपैयाँका पूँजीगत कार्यक्रम सञ्चालन गर्दा मात्र १३ अर्ब ५ करोड ९६ लाख रुपैयाँ चालुमा खर्च गर्ने भएको छ ।

प्रदेश ५ को बजेट पनि चालुको तुलनामा पूँजिगत खर्च बढी हुने गरी आएको छ । आगामी आर्थिक वर्षमा १८ अर्ब ५७ करोड पूँजिगत खर्च गर्दा यस प्रदेशले १३ अर्ब ४५ करोड चालुमा खर्च गर्ने भएको छ । प्रदेश नं १ को बजेटमा चालुको तुलनामा पूँजीगत खर्च सामान्य बढी छ । प्रदेश नं ३ को ठूलो रकम चालुमा खर्च हुनेछ ।

प्रदेशहरुले बजेटलाई वितरणमुखी हुनबाट जोगाउन भने सकेनन् । बजेट कार्यान्वयन गर्दा अनुदानका थुप्रै कार्यक्रम बजेटमा समेटिएका छन् । सांसदलाई बजेट बाँड्नेदेखि स्थानीय तहमा दामासाही बजेट बाँड्ने प्रशस्त कार्यक्रम बजेटमा समेटिएका छन् ।

प्रदेश १

प्रदेश १ सरकारले ४२ अर्ब २० करोड ४ लाख १२ हजार बजेट ल्याएको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ ।

प्रदेश २
प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजारको बजेट प्रस्तुत गरेका हुन् । वितीय व्यवस्थातर्फ २० करोड बजेट विनियोजन गरेको यादवले बताए ।

प्रदेश ३
प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित बजेट आइतबार सार्वजनिक गरेको छ । प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट पेस गरे । यो चालु आवको तुलनामा ११ अर्ब ९९ करोड २१ रुपैयाँ बढी हो ।

गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आइतबार बजेट प्रस्तुत गर्दै चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार रुपैयाँ (३८ प्रतिशत) र पूँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ (६२ प्रतिशत) छुट्टाइएको बताए ।

प्रदेश ५
चालु वर्षका धेरै कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश ५ सरकारले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटका धेरै अंश पूर्वाधार र कृषिमा केन्द्रित छन् ।

कर्णाली प्रदेश
सुरुका दुई आर्थिक वर्षमा महत्त्वाकांक्षी योजना सार्वजनिक गर्दै पुँजीगततर्फ अधिक बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि पुँजीगतको दायरा घटाएको छ । जनशक्ति व्यवस्थापन र संरचनामार्फत विकास योजनाको प्रभावकारी कार्यान्वयन गर्ने भन्दै चालु खर्च बढाइएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७६/७७ का लागि आइतबार प्रदेशसभामा पेस गरेको ३४ अर्ब ३५ करोड ३४ लाखको बजेटमा पुँजीगततर्फ ६१ दसमलव ९८ प्रतिशत र चालुतर्फ ३८ प्रतिशत विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको बजेटमा यो दर क्रमशः ७६ दशमलव ५२ र २३ दशमलव ४८ प्रतिशत थियो ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजारको पूर्ण बजेट आइतबार प्रदेशसभामा प्रस्तुत गरेको छ । विनियोजित कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार रहेको छ भने पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!