प्रधानमन्त्री ओली भन्छन्, ‘संसदमा कांग्रेसले देखाएको व्यवहार अमर्यादित’

SHARE:


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा मंगलबार आफूलाई बोल्न रोकेर प्रमुख विपक्षी कांग्रेसले अमर्यादित चरित्र देखाएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संघीयताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दीप्रति खेद व्यक्त गरेका छन् । “संसदमा आज कांग्रेसले अमर्यादित क्रियाकलाप देखाएको छ । यसले संकेत गर्न खोजेको विषय गम्भीर हो” प्रधानमन्त्री ओलीले भने, “लोकतन्त्र, गणतन्त्र र संघीयताका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी भएको छ । यसमा घोर दक्षिणपन्थीदेखि अति वामपन्थीहरुसम्म एकजुट भएका छन् ।”

लोकतान्त्रिक शक्तिले आफूबाहेक अरु पनि सत्तामा आए भने स्वीकार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको बताए । जनपक्षीय शक्तिहरुलाई देखिनसहने कारणले १७ साल आएको प्रधानमन्त्रीले स्मरण गराए ।

प्रधानमन्त्रीले राष्ट्रिय अखण्डता र राष्ट्रिय हितप्रति सरकार अत्यन्तै सजग भएको बताए । “वर्तमान सरकार अरुले ल्याइदिएको लोकतन्त्र स्वकारेर आएको होइन । लोकतन्त्रका लागि अग्रभागमा संघर्ष गरेर आएको हो” उनले भने, “अहिले जुन पार्टी सरकारमा छ । यो अचानक नारा लिएर सरकारमा पुगेको होइन ।”

सरकार शान्ति, स्थायित्व र समृद्धिका लागि क्रियाशील रहेको बताउँदै जो आत्तिए पनि सरकारको समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले गुठी संस्थानलाई पुनर्गठन र व्यवस्थित गर्न खोज्दा उल्टो भ्रमणपूर्ण कुरा प्रचारमा लगेर एक साता बाहिर हुँदा देशभित्र तनाव बढाउने काम भएको बताए ।

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सञ्चार जगतलाई पनि मर्यादित र जिम्मेवार हुन आग्रह गरे । “सञ्चार जगत लोकतन्त्रको खम्बा हो, तर आज हामी सञ्चारको क्षेत्रमा संक्रमणकालीन अवस्थामा छौं, हाम्रो सामाजिक मूल्य मान्यता हराइसक्यो” प्रधानमन्त्रीले भने, “हरेक भाषाको आ आफ्नो मर्म हुन्छ । तर, हाम्रा सञ्चार माध्यममा मर्म हराउँदै आएको छ । नेपाली सञ्चार माध्यमले बाबुलाई पनि तिमी, आमालाई पनि तिमी भन्न सिकाएका छन् । यहाँबाट आदरार्थी शब्द हराइसक्यो ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!