काठमाडौँ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गरिएको छ । फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई बिहीबार अस्पताल भर्ना गरी उपचार थालिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । चौधरीको खुट्टामा प्रहरीले मोटो नेल लगाइएको छ। ‘अस्पतालमा उपचाररत हुँदा पनि प्रहरीले चौधरीमाथि दमन गर्न छाडेको छैन। कारागारभित्र रहँदा नेल र हत्कडी नलगाए पनि अस्पतालमा लगाइएको छ,’ चौधरीको पारिवारिक स्रोतले भन्यो। त्यहाँ उनलाई कडा सुरक्षाभित्र राखिएको छ। चौधरी भाग्न नसकून् भनेर नेल लगाई राखिएको प्रहरी स्रोतको दाबी छ।
दुई सातादेखि बिमार चौधरीलाई जेल प्रशासन र चिकित्सकको सल्लाहमा बिहीबार अस्पताल भर्ना गरिएको हो। फोक्सोमा समस्या उत्पन्न र्भपछि चौधरीलाई सास फेर्न गाह्रो हुने गरेको छ। ढाडको बोनम्यारोमा पनि समस्या देखिँदा उनी हिँडडुल गर्न नसक्ने भएको पारिवारिक स्रोतको भनाइ छ। चौधरीलाई अस्पतालमा परिवारका सदस्य र जेल प्रशासनबाट खटिएका हतियारधारी प्रहरीले कुरिरहेका छन्। उनलाई कम्तीमा १० दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएको पारिवारिक स्रोतको भनाइ छ। चिकित्सकले चौधरीलाई दैनिक थेरापी गर्न र बेड रेस्ट गर्न सुझाएका छन्।
संविधानसभाबाट संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएको छ। टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भएका थिए।
सरकारले राजपाको दबाबमा हिरासतमा रहेका चौधरीलाई गत पुस ११ मा शपथग्रहणको मौका दिएको थियो। जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि भने उनी सांसदबाट निलम्बित छन्।






