काठमाडौँ । वीर अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टीका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको फलामे सिक्री (नेल) हटाइएको छ । अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको विश्वव्यापी मान्यताविपरीत चौधरीलाई अस्पतालको शय्यामा समेत नेल लगाएर राखिएकामा चौतर्फी विरोध भएपछि शुक्रबार रातिबाटै नेल हटाइएको जानकारी अस्पताल स्रोतले दिएको छ ।
फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएका चौधरीलाई खुट्टामा १४ किलोग्रामको नेल र हातमा हत्कडी लगाएर राखिएको थियो । हतियारधारी प्रहरीले चौधरी भाग्न नसकून् भनेर सुरक्षासमेत दिइरहेका छन् ।
यसैबीच प्रधानमन्त्री केपी ओलीले चौधरीलाई अस्पतालमा नेल लगाएर राख्न आदेश दिने जेल प्रशासनका अधिकारीलाई कारबाही गर्न निर्देशन दिएका छन् । ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई शनिबार फोन गरी बिरामी चौधरीलाई नेल लगाएर राखिएकामा तीव्र असन्तुष्टि व्यक्त गर्दै त्यसका लागि जिम्मेवार अधिकारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । डिल्लीबजार कारागारबाट अस्पताल लगिएका चौधरीलाई कारागार प्रमुखको आदेशमा नेल लगाइएको जानकारी स्रोतले दिएको छ






