नुवाकोट । पूर्वाधार विकासलाई प्राथमिकता राख्दै पञ्चकन्या गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि २९ करोड ३८ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको छ ।
अस्थायी कार्यालय रहेको घलेभञ्ज्याङमा मंगलबार आयोजित सातौं गाउँसभामा गाउँपालिका उपाध्यक्ष सीता खड्काले बजेट वक्तव्य सुनाएकी हुन् । कुल विनियोजित रकम २९ करोड ३८ लाख ६७ हजार ५ सय ३६ मध्ये चालुतर्फ १७ करोड ५८ लाख १७ हजार ५ सय ३६ र पुँजीगत तर्फ ११ करोड ८० लाख ५० हजार रहेको छ । पूर्वाधार विकासका लागि ४ करोड ६९ लाख बजेट छुट्याइएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को खर्च अनुमान गत आवको तुलनामा झन्डे १.१ गुणाले बढी हो । सरकारी ससर्त वित्तीय अनुदान स्वरुप संघीय सरकारबाट प्राप्त ९ करोड ६० लाख र प्रदेश सरकारबाट प्राप्त ससर्त रकम २१ लाख ५७ हजार तथा कृषि पशु स्वास्थ्य र शिक्षा तर्फका बजेट समेत चालु खर्चमा लेखाङ्कन गर्नुपर्ने प्रावधानले गर्दा चालु खर्चको अंश केही बढी देखिन गएको उपाध्यक्ष खड्काले प्रस्ट पारिन् ।
उपाध्यक्ष खड्का अनुसार कुल बजेटमध्ये गाउँकार्यपालिकाबाट ७ करोड ८८ लाख १७ हजार ५३६ रुपैयाँ चालु खर्च र ८ करोड ३० लाख ५० हजार पुँजीगत खर्च रहने गरी विषयगत शाखाहरुबाट ९ करोड ६० लाख रुपैयाँ चालु खर्चस्वरुप र वडा समितिहरुबाट १० लाख चालु तथा ३ करोड ५० लाख पुँजीगत खर्च हुने गरी वित्तीय व्यवस्था गरिएको छ ।
गाउँपालिकाले सार्वजनिक गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ६० लाख, संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट ७ करोड ४६ लाख, ससर्त अनुदानबाट ९ करोड ६० लाख, राजस्व बाँडफाँटबाट ५ करोड १४ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट ९९ लाख २७ हजार, ससर्त अनुदानबाट २१ लाख ५७ हजार रहेको छ । त्यस्तै राजस्व बाँडफाँट हस्तान्तरणबाट १ करोड ११ लाख ६ हजार, विद्युत् रोयल्टीबाट प्राप्त ३६ लाख १४ हजार ५३६ व्यहोर्दा न्यून हुन आउने २ करोड ७९ लाख २५ हजार ८५४ मध्ये चाल आवको नगद मौज्दातबाट २ करोड २० लाख व्यहोरिने र बाँकी घाटा रकम ५९ लाख २५ हजार ८५४ विभिन्न स्रोतहरुबाट सोधभर्ना गरिनेछ ।
५ वटा रहेको पञ्चकन्या गाउँपालिकाका लागि विनियोजित बजेटमा कृषिमा ४३ लाख, खानेपानी तथा सरसफाइमा ५२ लाख ५० हजार, संस्कृति ५६ लाख, खेलकुद मैदान निर्माण १५ लाख, भवन तथा सहरी विकास आयोजनाका लागि ७३ हजार छुट्याइएको छ । यस्तै विविध खर्चतर्फ वडा नं १ का लागि ४ लाख, विभिन्न सिँचाइ तथा पाइप खरिद २० लाख, वातावरण तथा विपद व्यवस्थापनका लागि समेत ६३ लाख बजेट विनियोजन गरिएको छ ।
सभामा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ लगायत जनप्रतिनिधि, कर्मचारी, स्थानीयको बाक्लो उपस्थिति थियो ।






