अस्ट्रेलिया । अस्ट्रेलिया सरकारले कामदारहरुलाई दिने न्यूनतम तलबमा वृद्धि गरेको छ । वृद्धि भएको तलब अनुसार अबदेखि अस्ट्रेलियामा फूल टाईम (साताको ३८ घण्टा) काम गर्ने जोकोहीले ७ सय ४० दशमलव ८० डलर (करिब ६० हजार रुपैयाँ) पाउने भएका छन् । जुन गतवर्षको भन्दा ३ प्रतिशतले बढी हो ।
कामदारको हकहितमा क्रियाशिल सरकारी निकाय ‘फेयर वर्क कमिसन’ ले जुलाईदेखि लागू हुने गरी न्यूनतम तलबमा वृद्धिको निर्णय गरेको हो। नयाँ तलबमानअनुसार अस्ट्रेलियामा काम गर्ने कामदारहरूले प्रतिघण्टा १९ दशमलव ४९ डलर अर्थात (करिब १ हजार ५ सय ५० रुपैयाँ) पाउनेछन्।
स्थानीय सञ्चारमाध्यमले न्यूनतम तलबमा गरिएको वृद्धिसँगै सबैभन्दा बढी न्यूनतम तलब प्रदान गर्ने देश अस्ट्रेलिया बनेको छ। अस्ट्रेलियाको काउन्सिल अफ ट्रेड युनियनले ६ प्रतिशत तलब वृद्धि हुनुपर्ने आवाज उठाइरहेको भएपनि सरकारले ३ प्रतिशत वृद्धि गरेको हो। तलब वृद्धिले करिब २२ लाख कामदार प्रत्यक्ष रुपमा लाभान्वित हुने बताइएको छ। अस्ट्रेलियाले गतवर्ष सातामा फूल टाईम अर्थात् ३८ घण्टा काममा खटिनेलाई प्रतिघण्टा १८ दशमलव ९३ डलर प्रतिघण्टा तलब दिदै आएको थियो। जुन साताको ७ सय १९ दशमलव २० डलर थियो। सामान्यतयाः हरेक वर्ष न्यूनतम तलबमा वृद्धि गर्दै आएको अस्ट्रेलिया सरकारले यसवर्ष समेत बिभिन्न निकायहरुसँगको छलफलमा न्यूनतम तलबमा वृद्धि गरेको हो। अस्ट्रेलियाले आफ्नो करको नियम अनुसार आफ्ना नागरिकहरुबाट निजी आम्दानीमा कर समेत लगाउँदै आएको छ।






