काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समिति बैठकले भारतीय निजी व्यावसायिक संस्था (विजक्राफ्ट) ले नेपालमा गर्न लागेको आइफा (इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड) नेपालको स्वाधिनता, स्वत्नत्रता र राष्ट्रिय अस्मितामाथि आँच पुर्याउने खालको रहेको निष्कर्ष निकाल्दै तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको हो ।
आइफा आयोजनाका लागि विजक्राफ्टले नेपाल सरकारसमक्ष मस्यौदा पठाएको छ। जसमा आर्थिक दायित्व नेपाल सरकारले व्यहोर्ने र राष्ट्रिय हित प्रतिकूल रहेको समितिको निष्कर्ष रहेको सचिव सुरज दुराले जानकारी दिए। मस्यौदामा ४०-५० करोडको प्रस्ताव गरिए पनि झन्डै डेढ अर्ब जति खर्च हुने समितिको निष्कर्ष छ।
आइफा अवार्डको विषयलाई लिएर सञ्चारमाध्यम तथा सार्वजनिक रुपमा टिप्पणी भएपछि समितिले कार्यक्रमबारे जानकारी दिन मंगलबार सम्बन्धित मन्त्रालयका अधिकारीहरलाई डाकेको थियो। उनीहरुले कार्यक्रमबारे समितिलाई जानकारी गराएका थिए।






