बेलायत – तमु धीं युकेले हरेक वर्ष सञ्चालन गर्दै आएको “आजीवन सदस्य रात्रिभोज” गत शनिबार, १७ अक्टोबर २०२६ का दिन बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा भव्य रूपमा सम्पन्न गरेको छ।
उक्त रात्रिभोजमा तमु धीं युकेले यस वर्षको “आदर्श तमु अवार्ड २०२६” बिन्दु गुरुङ, लिडिया गुरुङ, ह्यारी गुरुङ, सन्त गुरुङ, बेन कुमार गुरुङ, ललितमान गुरुङ, चन्द्र बहादुर गुरुङ र कोल प्रसाद गुरुङलाई प्रदान गरेको छ। तमु धीं युकेद्वारा सञ्चालित विभिन्न योजना तथा क्षेत्रमा विशेष योगदान पुर्याएबापत उहाँहरूलाई उक्त “आदर्श तमु अवार्ड २०२६” द्वारा सम्मानित गरिएको हो।
तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी हुनुहुन्थ्यो। त्यस्तै, विशेष अतिथिहरूमा रसमर बोरो काउन्सिलका उपमेयर जीव नारायण बेल्वासे र तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन डेम बहादुर गुरुङ रहनुभएको थियो। रात्रिभोज कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन महासचिव डा. विशाल गुरुङले गर्नुभएको थियो।
उक्त रात्रिभोजमा चर्चित तथा लोकप्रिय कलाकारहरू प्रिया गुरुङ, पवित्रा गुरुङ र शिवदास गुरुङले बेजोड मनोरञ्जन प्रदान गरेका थिए भने आमा समूहकी अध्यक्ष कमला गुरुङ र उनको कार्यसमितिले पाहुना सत्कारमा विशेष सहयोग गरेका थिए।









