बाढी र पहिरोबाट व्यापक जनधनको क्षति, ७८ जनाको मृत्यु

SHARE:

काठमाडौँ । केही दिनयता आएको अविरल वर्षाका कारण नेपालको विभिन्न भागमा गएको बाढी र पहिरोबाट म‌ंगलबारसम्ममा ७८ जनाले ज्यान गुमाएका छन् । झण्डै तीन दर्जन बेपत्ता छन् । त्यो भन्दा धेरै संख्यामा घाइते रहेका छन् ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार १२ महिला र १४ पुरुषको बेपत्ता छ ।

बाढी र पहिरोमा परेकाहरुको उद्धार तथा राहत वितरण भइरहेको छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । वर्षाका कारण आएको बाढी पहिरोमा परेर राजधानी काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाइसकेका छन् । त्यसैगरी प्रदेश १ को भोजपुर, ओखलढुंगा, खोटाङ, झापा, सुनसरी, उदयपुर, इलाममा मानिसको मृत्यु भएको छ । प्रदेश २ को धनुषा, बारा, पर्सा, रौतहट, सिरहा सबैभन्दा धेरै प्रभावित छ । ति जिल्लाहरुमा पनि हाताहातिको खवर छ । त्यस्तै प्रदेश ३ को काभ्रे, मकवानपुर, सिन्धुली र धादिङमा मानिसको मृत्यु भएको छ । यस्तै प्रदेश ५ को पाल्पा र दाङ तथा प्रदेश ६ को डोल्पामा पनि पहिरोमा परेर ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै क्षति प्रदेश २ मा
बाढीबाट सबैभन्दा धेरै क्षती प्रदेश दुईमा भएको छ । अरु प्रदेशको तुलनामा कम मान्छे मरेको भएपनि करिब ७ लाख मानिस प्रत्यक्ष रुपमा प्रभावित रहेको प्रदेश २ सरकारले जनाएको छ । उनीहरुको लागि बास र राहतको व्यवस्था गर्नुपर्ने अवस्था आएको छ । बाढी र पहिरोका कारण प्रदेश २ मा आइतवारसम्म १४ जनाको मृत्यु भएको थियो । ५ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बाढीमा सिरहामा १, बारा, पर्सा, धनुषा र महोत्तरीमा दुई दुई जना र रौतहटमा ५ जना गरी १४ जनाको मृत्यु भएको हो । त्यस्तै, धनुषा, रौतहट र सिरहामा एक एक, महोत्तरीमा २ गरी ५ जना बेपत्ता भएका हुन् ।

अविरल बर्षासँगै आएको बाढी र पहिरोमा परी प्रदेश २ का ७ लाख प्रत्यक्ष प्रभावित भएका छन् । प्रदेश प्रहरी कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ४४ जना बाढी तथा डुबानले घरबार छाडेर विस्थापित भएका छन् । बाढी र डुबानले ३ हजार ५ सय ३० घरमा पूर्ण क्षति भएको छ । वर्षाले प्रदेशको माछापालन व्यवसाय सबैभन्दा बढी क्षति भएको छ । माछापालनका लागि महत्वपूर्ण मानिएको अधिकांश पोखरी तथा जलासय डुबानमा परेको छ । जसमा १५ हजार ६ सय ६८ पोखरीमा व्यावसायिक रुपमा माछापालन हुँदै आएको थियो । त्यसमध्ये ११ हजार पोखरीमा बाढी र डुबानले क्षति भएको हो ।

प्रदेश १ सरकारको राहत
प्रदेश १ सरकारले बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई दुई लाख राहत र घाइतेको उपचार खर्च सरकारले व्यहोेर्ने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दिएको जानकारी अनुसार मृतकका परिवारलाई दुई लाख दिइने र बाढीपहिरोमा घाइते भएकालाई सरकारी अस्पतालमा निःशुल्क उपचार गराइने छ । उनले निजी अस्पतालमा उपचार गराउनेको ५० हजारसम्म उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने पनि बताए ।

मानवनिर्मित संरचनाले क्षति
बाढी पहिरोलाई प्राकृतिक प्रकोप भनिएपनि धेरै क्षती भने मानव निर्मित संरचनाले गर्दा देखिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले मानव निर्मित भौतिक संरचनाका कारण बाढीपहिरो र डुबानबाट बढी क्षति भएको बताएका हुन् ।

आइतबारको बैठकमा उनीहरुले बिनाप्राविधिक डोजर प्रयोग गरी जथाभावी सडक खनेर प्रकृतिको विनाश गरिएका कारण पनि विपदबाट क्षति भएको बताए । उनीहरूले विकास निर्माणका गतिविधि प्रकृतिमैत्री बनाउन सरकारलाई सुझाव समेत दिए । समिति सदस्यहरूले भारतले एकतर्फी रूपमा सीमा क्षेत्रमा बनाएका बाँध र तटबन्धका कारण मुलुकको तराई क्षेत्र हरेक वर्ष डुबानमा पर्ने गरेको उल्लेख गर्दै त्यस्तो समस्या समाधानका लागि समयमै कूटनीतिक पहल चाल्न नसकेकामा सरकार आक्रोश समेत पोखे । भारतसँगको कोसी र गण्डकजस्ता असमान सम्झौताका कारणसमेत तराईका बस्ती डुबानमा पर्ने गरेकोतर्फ गम्भीर भई ती सम्झौता पुनरावलोकनका लागि कूटनीतिक पहल गर्नसमेत सांसदहरूले सरकारलाई उनीहरुले आग्रह गरे । उनीहरूले नेपालमा बाढीपहिरो आउँदा भारतमा समेत असर पर्ने भएकाले सरकारले द्विपक्षीय पहलबाट दीर्घकालीन समस्या समाधानका लागि लाग्नुपर्नेमा जोड दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!