काठमाडौं । लोकसेवा आयोगको असमावेशी विज्ञापनविरुद्ध आन्दोलित समुदायमध्यको तामाङहरुले संघर्षलाई थप सशक्त बनाउने निष्कर्ष निकालेका छन् ।
बिहीबार नेपाल तामाङ घेदुङको सभाहल चुचेपाटी, बौद्धमा तामाङ संघ/संस्थाका प्रतिनिधिहरूबीच भएको संयुक्त छलफलमा आन्दोलनलाई सशक्त बनाउन आन्दोलन व्यवस्थापन समिति बनाएर अघि बढ्ने निष्कर्ष निकालेको अध्यक्ष मोहन गोलेले जानकारी दिए । उनका अनुसार लोकसेवा आयोगको असमावेशी विज्ञापन विरुद्धको भावी आन्दोलनलाई कसरी अघि बढाउन सकिन्छ भन्ने सम्बन्धमा छलफलमा विभिन्न तामाङ अगुवाले सुझाव दिएका थिए ।
कार्यक्रममा तामाङ घेदुङका प्रमुख सल्लाहकार कुमार योन्जन, पूर्वकानुन राज्यमन्त्री दिलमान पाख्रिन र सल्लाहकार कुमार ब्लोनले आन्दोलनलाई आगामी दिनमा सशक्त ढंगबाट अघि बढाउनुको विकल्प नरहेको बताएका थिए । यसैगरी उनीहरुले आन्दोलनमा तामाङ समुदायको सहभागिता बढाउन घेदुङ नेतृत्व गाउँ गाउँमा पुग्नुपर्ने सुझाव पनि दिएका उनले जनाए ।
संविधान र ऐनमा व्यवस्था रहेको ४५ प्रतिशत आरक्षणलाई तिलाञ्जली दिएर आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलेको विज्ञापनविरुघ आदिवासी जनजाति, महिला, मधेसी, मुस्लिम, उत्पीडित क्षेत्र, अपांगता भएका समुदाय लगायतले आन्दोलन गरिरहेको छ । सरकार र आयोगले आन्दोलनकारीको जायज माग बेवास्ता गर्दै प्रदेश नम्बर १ बाट परीक्षा समेत सुरु गरिसकेको छ ।
आयोगले जेठ १५ मा ९ हजार भन्दा बढी कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको थियो ।






