काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुको अवरोधपपछि प्रतिनिधिसभका बुधबारसम्मका लागि स्थागित भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको सोमबारको बैठक सुरु भएको जानकारी गराउने बित्तिकै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । सर्लाही घटनाको छानविनका लागि संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएका उनीहरुले सोही मागबारे ध्यानाकर्षण गराउन उभिएको भए पनि सभामुख महराले बैठकको कार्यसूची अगाडि बढाउने जानकारी गराउँदै ‘शून्य समयको कारवाही सुरु हुन्छ’ भनेपछि दुवै दलका सांसदहरु नाराबाजी गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए ।
उनीहरुले संसदीय सर्वोच्चता कामय गर, मानवअधिकार हनन गर्न पाइँदैन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर भन्दै रोष्टम अगाडि नाराबाजी गरे । यसैबीच सभामुख महराले आसन ग्रहणका लागि पटक पटक आग्रह गरेपनि नाराबाजी गर्ने क्रम जारी रह्यो । यसपछि सभामुख महराले बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे ।
संसदीय छानविन समिति गठनको माग गर्दै बैठक अवरुद्ध पार्दे आएका कांग्रेस र राजपाका सांसदहरुको नाराबाजी र अवरोधबीच गत असार २५ गते सभामुख महराले सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव पढ्न समय दिएर कार्यसूची अघि बढाएका थिए । त्यसपछि ३० गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर साउन ८ गते सम्मका लागि सारिएको थियो । कांग्रेस र राजपाका सांसदहरुले ८ गते भने बाढी पहिरोका सम्बन्धमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलका लागि बैठक संञ्चालन गर्न सहमति जनाएका थिए । उनीहरुले संसदीय छानविन समिति गठन नभए सोमबारको बैठक चल्न नदिने पूर्वसुचना पनि दिएका थिए ।






