
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीले बुधबार दिउँसो भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका हुन् ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दिउँसो १ बजे मात्र बोलाएर मन्त्री बन्ने प्रस्ताव राखेका थिए । ‘पार्टी शीर्ष नेताहरुसँग राय सल्लाह दिएर जिम्मेवारी दिनु भएको हो’ नववियुक्तमन्त्री भट्टराईले भनेका छन् । उनले अपराहृन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिए । लगतै सिंहदरबारस्थि पर्यटन मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।
आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा आएको भन्दै उनले विमानस्थल निर्माण, वायुसेवा निगमको स्तरोन्नती लगायतलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।
तत्कालीन एमालेमा सचिव समेत भइसकेका भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । चुनाव प्रचारमा जाँदा नै ओलीले भट्टराईलाई चुनाव जिताए मन्त्री बनाउने बताएका थिए । सुरुवाती मन्त्रिपरिषद् विस्तारहरुमा भट्टराई नपर्दा ओलीको आलोचना समेत भएको थियो ।
नवनियुक्त मन्त्री योगेश भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका छन् । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्चीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए ।
‘परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु, उहाँले नै राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो, उहाँकै आवश्यकता थियो, तर प्रकृतिलाई जित्न सकेनौं. उहाँको उत्ताराधिकारीका रुम्पमा आएको छु, यसो भन्दा मलाइ गर्व छ ‘ उनले भने । रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालयलाई उचाइमा पुर्याएको उनले बताए । सबै मन्त्रीहरु आफ्नो अग्रज भन्दै उनले सबैसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए ।
आफू निश्चित योजनाविनै आएको भन्दै मन्त्रालयका सचिवदेखि पियनसम्म सबैको सल्लाह लिएर काम गर्ने बताए । ‘नियोजित योजनाबिना आएँ, मन्त्रालयका पियनदेखि सचिवसम्म सबै साथी हौं, एउटै टिममा छौं, टिमलाई गति दिन्छु, तपाईंले काम लगाउनु म सिक्न आएको हो’ उनले भने । केही दिनमा प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्ने भन्दै मन्त्री भट्टराईले आफूले गर्न सक्ने कुरामात्रै प्रतिवद्धता गर्ने बताए ।
अहिले पर्यटन मन्त्रालयमा धेरै चुनौती रहेको भन्दै उनले नेपाल भ्रमण वर्षलाई सफल पार्न सम्पूर्ण तागत र शक्तिका साथ अगाडि बढ्ने बताए । पोखरा विमानस्थल र गौतमवुद्ध विमानस्थल सकेसम्म छिटो सक्ने र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सहमति जुटाउने पनि मन्त्री भट्टराईले बताए । पर्यटनमन्त्री भट्टराईले आफूले मन्त्री हुने कुरा बुधबार दिउँसो १ बजेमात्रै थाहा पाएको बताए । ‘प्रधानमन्त्रीले आज १ बजे कार्यालयमा बोलाएर प्रस्ताव गर्नुभयो । सबै वरिष्ठ नेतासँग रायमा जिम्मेवारी दिनुभएको छ’ उनले भने ।






