लन्डन । भूतपूर्व गोर्खा समुदायका एकजना अगुवा तथा समाजसेवी लक्ष्य गुरुङले बार्नेट काउन्सिलको काउन्सिलर पदमा जित हासिल गरेका छन् ।
बिहीबार भएको स्थानीय निकायको चुनावमा सत्तारुढ कन्जरभेटिभ पार्टीको उम्मेदवारको रुपमा बार्नेट काउन्सिलको हेल वार्डबाट गुरुङ ३ हजार ७ मत ल्याइ विजयी भएका हुन् । मतगणना बिहीबार राति नै गरिएको थियो । सोही वार्डबाट कन्जरभेटिभ पार्टीकै एलियट किथ सिम्वर्ग तथा लेथ बेन्जामिन जाजेह पनि काउन्सिलर पदमा विजयी भए ।
चुनावी परिणाम घोषणापछि गुरुङले आफ्नो जित सम्पूर्ण भूतपूर्व गोर्खा तथा बेलायतमा बस्ने नेपालीहरुको जित र गौरवको विषय भएको प्रतिक्रिया दिए । उनले आफ्नो काउन्सिलमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारका समस्याहरु सुल्झाउनुका साथै नेपाली बालबालिकाहरुका लागि बन्र्टओकमा सञ्चालित नेपाली भाषा कक्षालाई निरन्तरता दिन पनि आफूले पहल गर्ने बताएका छन् । उनले आफ्नो चुनावी अभियानमा सघाउने सबैलाई धन्यवाद पनि दिएका छन् । गुरुङको चुनावी अभियानमा हेण्डन क्षेत्रका सांसद डा. म्याथ्यु अफोर्ड, स्थानीय कन्जरभेटिभ पार्टीका पदाधिकारीहरु पनि सहभागी थिए । चुनावी अभियानमा छोटो समयका लागि प्रधानमन्त्री टेरेजा मे, पूर्वप्रधानमन्त्री डेभिड क्यामरनलगायत पनि आएर हौसला बढाएका थिए ।
बन्र्टओक नेपाली समाजका पूर्वअध्यक्ष गुरुङ गैरआवासीय नेपाली संघको युरोप क्षेत्रमा पूर्वउपसंयोजक पनि हुन् । उनलाई हालै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गोर्खा सहयोग उपसमितिको अध्यक्षमा मनोनयन गरेको छ ।






