लन्डन । बेलायतमा व्यवसायी तथा समाजसेवी पुरन गिरीलाई वातावर्णसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार प्रदान गरिएको छ ।
ब्रिटिस संसदको उपल्लो सदन हाउस अफ लर्डसमा सोमबार आयोजित विशेष समारोहमा व्यवसायी गिरीलाई ‘द ग्रीन अर्गनाइजेसन’ ले ‘ग्रीन एप्पल इन्भाइरोन्मेन्ट अवार्ड-२०२६’ (नेस्नल सिल्भर) प्रदान गरेको हो ।
अवार्ड ग्रहणपछि व्यवसायी गिरीले भने, ‘पर्वतदेखि बेलायतसम्मको यात्रामा आज द ग्रीन अर्गनाइजेसनद्वारा हाउस अफ लर्डसमा आयोजित अवार्ड सेरेमोनीमा सम्मानित अवार्ड पाउँदा अत्यन्तै खुसी र गर्व लागेको छ। कम्पनीलाई अझ अगाडि बढाउँदै उत्कृष्ट काम गर्नुहुने सम्पूर्ण म्यानेजमेन्ट टिम तथा स्टाफप्रति हार्दिक धन्यवाद ।’
द ग्रीन अर्गनाइजेसन सन् १९९४ मा स्थापना भएको एक अन्तर्राष्ट्रिय, स्वतन्त्र, गैर–नाफामूलक र गैर–राजनीतिक वातावरणीय समूह हो जुन विश्वभर वातावरणीय क्षेत्रका उत्कृष्ट अभ्यासहरूको पहिचान, तिनलाई पुरस्कृत तथा प्रवर्द्धन गर्न समर्पित छ।
गिरीसहित नेपाली उद्यमीहरुको एउटा समूहले झण्डै दुई वर्षअघि अल्डरसटस्थित वेलिङटन सपिङ सेन्टर र आसपासको प्रपर्टी करिब १० मिलियन पाउण्डमा खरिद गरेको थियो । वेलिङटन सपिङ सेन्टरमा वातावरण संरक्षण, स्वच्छता र दिगो विकासजस्तो महत्वपूर्ण क्षेत्रमा गिरीले पुर्याएको योगदानको उच्च सम्मान गर्दै यो अवार्ड प्रदान गरिएको जनाइएको छ । बेलायतमा यही विद्यामा हाउस अफ लर्डसमा अरु नेपालीले यस्तो अवार्ड प्राप्त नगरेको गिरीले बताए ।
गिरी अन्तर्राष्ट्रिय पर्वत समाजका पूर्व अध्यक्ष, अल्डरसटस्थित एम्पायर हलका सञ्चालकसमेत हुन् ।






