काठमाडौँ । अमेरिकाको टेक्सस सहर र ओहायो राज्यमा बन्दुकधारीले गोली चलाउँदा २९ जनाको मृत्यु भएको छ । ४२ घाइते भएका छन् ।
टेक्ससमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चल्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन् । एल पासो सहरको सिएलो भिस्टा मल नजिकको वालमार्ट स्टोरमा बन्दुकधारीले आक्रमण गरेको बीबीसीले जनाएको छ ।
घटनामा संलग्न भएको आशंकामा एक २१ वर्षीय व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेका पैट्रिक क्रुसिएस नामका ती व्यक्ति डालास क्षेत्रका बासिन्दा भएको बताइएको छ।
टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको इतिहासमै खतरनाक घटना भएको बताएका छन् । घटनास्थल अमेरिका र मेक्सिको क्षेत्र सीमा नजिक पर्छ।
यस्तै अमेरिकाको ओहायो राज्यको डेटन भन्ने स्थानमा एक बन्दुधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ९ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । बन्दुकधारीको जवाफी कारबाहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमा हालिएका भिडियो फुटेजमा गोलीको आवाज सुनिएसँगै दर्जनौँ मानिस भागिरहेको दृश्य देखिएको बीबीसीले उल्लेख गरेको छ । सञ्चारमाध्यमहरुका अनुसार उक्त घटना नेड पेपर्स बार अगाडि भएको थियो ।






