विगतको तुलनामा देशको पछिल्लो शान्ति सुरक्षामा सुधार आएको विभिन्न तथ्यले पुष्टि गरेको छ । शान्ति सुरक्षाको सुधारसँगै विकासले गति लिएको विश्वास समेत गर्न थालिएको छ । विकासका लागि शान्ति सुरक्षा अपरिहार्य नै हो । सुरक्षाका लागि समाजको महत्वपूर्ण भूमिका रहन्छ पनि । आजको स्थितिमा त्यही देखिएको छ ।
विभिन्न तथ्यांकले पनि नेपालमा शान्ति सुरक्षाको स्थिति सुधार आएको देखाएको हो । अहिले प्रहरीले स्वीकृत भएको दरबन्दी पनि पाउन सकेको छैन । नेपाल प्रहरीमा ७५ हजार ९२७ स्वीकृत दरबन्दी छ तर ६४ हजार ३२३ काम गरिरहेका छन् । अपर्याप्त जनशक्ति र स्रोत साधनका बीचमा पनि प्रहरीले आफूलाई सक्षम सावित गरिरहेको छ ।
रुल अफ ल इन्डेक्स २०१९ (वल्र्ड जस्टिस प्रोजेक्ट)का अनुसार नेपाल प्रहरी सार्क मुलुकहरुमा पहिलो स्थान हासिल गरेको देखाएको छ । त्यस्तै सोही तथ्यांकमा विश्व सूचकांकमा ५९ स्थानमा नेपाल छ । त्यस्तै ग्लोबल पीस इन्डेक्स २०१९ का अनुसार नेपालले विगतको तुलनामा थप उचाई हासिल गरेको छ । विश्व सूचकांकमा नेपाल ७६औं स्थानमा छ । गत साल ८८ स्थानमा थियो । यी तथ्यांकले पनि नेपाललाई थप सुरक्षित बनाएको स्पष्ट भएको छ । यो सुधारले सर्वत्र खुशी छाउने स्थिति छ ।
नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को अभियान सञ्चालन गरिरहेको अवस्था छ । यस्तो अवस्थामा नेपालमा शान्ति सुरक्षाको सुधारको संकेतहरु विश्व सूचीमा देखिनुले पर्यटकहरुलाई ढुक्कका साथ भ्रमणमा आउन बाटो खुलेको छ । पर्यटन व्यवसायीहरुलाई पनि सोही सूचकांकलाई देखाएर नेपाल सुरक्षित रहेको प्रचार गर्न सहज बनेको छ ।
विकासका लागि शान्ति सुरक्षा पहिलो शर्त हो । शान्ति सुरक्षा नभई विकास सम्भव छैन । जुनसुकै विकास निर्माणका लागि समाजमा शान्ति सुरक्षा अनिवार्य छ । त्यसो हुन सकेन भने विकासले गति लिन सक्दैन । अझ समृद्ध समाजको निर्माणमा शान्ति सुरक्षाको भूमिका महत्वपूर्ण हुन्छ । शान्ति सुरक्षा कायम गर्नका लागि समाजकै दायित्व महत्वपूर्ण हुन्छ ।
नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि गरेको महत्वपूर्ण योगदानका पछाडि विभिन्न अभियानहरु सहायक देखिएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र जनताबीचको दूरी घटाउने काम गरेको स्पष्ट देखिएको छ । आठ महिनाअभि सुरु भएको यो अभियानले समुदायसँगै विद्यार्थीहरुका बीचमा समेत व्यापक अभियान गरेको देखियो । सो अभियानहरुले प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि महत्वपूर्ण कदम अघि बढाउन सकेको स्पष्ट भएको छ ।
समुदायले प्रहरीलाई साथ पायो भने प्रहरीलाई समुदायको साथ रह्यो । यो साथले समाजमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रहरीलाई सहज बनेको स्पष्ट देखिएको छ । प्रहरीले मच्चाउँदै आएको एकाधिकार भन्दा पनि प्रहरीले समुदायमा रहेकालाई आफ्नो साथीका रुपमा लिए । जसका कारण समाजमा भएका विभिन्न विकृति, विसंगतिबारे सूचना सहज रुपमा प्राप्त गरे । यो कार्यले पनि विभिन्न विसंगतिहरुको पर्दाफास भयो । जसका कारण पनि देशमा शान्ति सुरक्षा कायम गर्न र अपराधीहरुलाई नियन्त्रणमा लिन सहज बनेको स्पष्ट भएको छ ।






