
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाइरहेको आरोप लगाएका छन् । समाजवादी पार्टीको ३ नम्बर प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा गरेको पार्टी समायोजन कार्यक्रममा भट्टराईले यस्तो आरोप लगाएका हुन् । ‘राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो, त्यसले तपाईंहरुले देख्नुभयो आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड छ ’, उनले भने, ‘सत्तरी वर्षभन्दा पुरानो नेपाली कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिँडिराखेकै छ । झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिष्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ । त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतालाई भ्रम छरिराखेकै छ ।’
भट्टराईले पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेको आरोप लगाए । ‘एउटाले लोकतन्त्रको नाममा जनतालाई ठगिराखेको छ । अर्कोले साम्यवादको नाममा नेताहरुले आफ्नो महल ठड्याएर विभिन्न देशमा परिवारसहित लाखौं खर्च गरेर भ्रमण गरेर बिताएका छन्,’ उनले भने, ‘अर्कोले धर्मको पाखण्ड देखाएर त्यस्तो अपराध गरिरहेका छन् । यस्ता पुराना शक्तिहरुको युग अब समाप्त भयो ।’ अध्यक्ष भट्टराईले नेपाली जनता पुराना दलहरुको पाखण्डबाट मुक्त हुन चाहिरहेको दावी गर्दै समाजवादी पार्टी विकल्प बनेर आएको बताए ।
अध्यक्ष भट्टराई उपस्थित कार्यक्रममा समाजवादी पार्टीले पहिचानमा आधारित पार्टी संचरनाको अभ्यास सुरु गरेको छ । उक्त पार्टीको विधानअनुसार अभ्यास गरिएको पहिचानमा आधारित राष्ट्रिय समितिको अवधारणाअनुरुपको संगठनात्मक संरचनाको अभ्यास सुरु गरेको हो ।






