वीरेन्द्रलाल श्रेष्ठ
शाखा प्रबन्धक, सानिमा बैंक अमरसिंहचोक पोखरा
सहायक तहबाट बैंकिङ करिअर सुरु गरेका वीरेन्द्रलाल श्रेष्ठ हाल सानिमा बैंकमा शाखा प्रबन्धकका रुपमा कार्यरत छन् । १८ वर्षअघि स्ट्यान्डर्ड चार्टड बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका थिए । २०३२ सालमा लमजुङ हालको मध्यनेपाल नगरपालिकामा जन्मेका श्रेष्ठ गाउँमै मंगला उच्च माविमा मा.वि. तहको शिक्षा पूरा गरेर उच्च शिक्षा हासिल गर्न पोखरा प्रवेश गरे । पोखराको पृथ्वीनारायण क्याम्पसबाट आइ.कम. सकिनासाथ बैंक पसेका हुन् उनी । बैंकमा काम गर्दै र पढ्दै उनले व्यवस्थापन संकायको अध्ययन पूरा गरे । डेढ दशक लामो समयदेखि बैंकिङ क्षेत्रमा कुशलतापूर्वक जिम्मेवारी सम्हाल्दै आएका शाखा प्रबन्धक श्रेष्ठ कुनै पनि क्षेत्रमा सन्तुष्ट हुन नसके राम्रो काम गर्न र आफूलाई विकास गर्न नसक्ने अनुभव सुनाउँछन् । क्षमता, इमान्दारिता र योजनाकारका रुपमा चिनिएका श्रेष्ठको पहिचान त्यत्तिमा मात्र छैन, व्यावसायिक कृषकको रुपमा पनि परिचित छन् । यसै सेरोफेरोमा एभरेस्ट टाइम्सले गरेको कुराकानी ।
सानिमा बैंक पोखराको अवस्था के छ ?
पोखरामा सानिमा बैंकको चारवटा शाखा छन् । बजार प्रतिस्पर्धाको हिसाबले सबै शाखा तुलनात्मक रुपमा अब्बल रहेका छन् ।
तपाईले नेतृत्व गरेको अमरसिंह शाखाको नि ?
मैले नेतृत्व गरेको सानिमा बैंक अमरसिंह चोक शाखा छोट्टै समयमा नाफामा गएको र तुलनात्मक रुपमा अगाडि छ । यस शाखाले सञ्चालनको छोटै समयमा स्टार एक्सीलेन्स अवार्ड प्राप्त गर्न सफल भएको छ । उक्त उपलब्धि मेरो मात्रै नभई शाखामा कार्यरत कर्मचारीहरुको मेहनत, इमान्दारिता र ग्राहकहरुको बैंकप्रतिको विश्वासको प्रतिफल हो ।
कर्जा प्रवाहको अवस्था के छ ?
बैंकिङ बजारको अवस्थाअनुसार हाम्रो कर्जा प्रवाह सन्तोषजनक छ ।
लगानीको प्राथमिकता कुन कुन क्षेत्रलाई दिनुभएको छ ?
हाम्रो उच्च प्राथमिकता उत्पादनमूलक क्षेत्र, कृषि, विपन्न वर्ग र व्यावसायिक कर्जामा छ ।
अरु बैंकको तुलनामा सानिमा के कारणले फरक छ ?
अहिले बंैकिङ सेवा सुविधामा उच्च प्रतिस्पर्धा छ । सबै बैंकले ग्राहकमुखी सेवासुविधा प्रदान गरिरहेका छन् । सानिमा बैंकले पनि नवीनतम, प्रभावकारी र ग्राहकमुखी सेवा सुविधा उपलब्ध गराइरहेको छ । तथापी, सानिमा बैंकले ‘एक सन्तुष्ट ग्राहकले अरु दस नयाँ ग्राहक उपलब्ध गराउन सक्छ’ भन्ने मान्यतामा विश्वास राख्दछ ।
त्यसैले हाम्रो सेवा सुविधा ग्राहकमुखी बनाएका छौं । साथै, सानिमा बैंकमा गैरआवासीय नेपाली (एनआरएन) हरुको पनि लगानी रहेको हुँदा विश्वभरबाट अनलाइन खाता खोलेर सानिमा बंैकमा कारोबार गर्न सक्ने अवस्था छ ।
बंैकिङ क्षेत्रमै हालसालै सानिमा बैकले ‘थ्री इन वान एकाउन्ट’ बजारमा ल्याएको छ, जुन सेवा हालसम्म सानिमा बैंकमा मात्र उपलब्ध छ । यस सेवामार्फत् ग्राहकहरुले विश्वको जुनसुकै ठाउँमा बसेर पनि शेयरसम्बन्धी कारोबार गर्न सक्छन् ।
ग्राहकमुखी सेवा, नवीनतम प्रविधिको उच्चतम प्रयोग गर्दै ग्राहकहरुको मन जित्न सफल भएकोले र स्थापनाकालको छोटै अवधिमा बैंक यो उचाईमा पुग्न सफल भएको छ ।
देशमा संघीयता लागू भइसके पनि बैंकिङ पहुँच ग्रामीणस्तरमा पुग्न सकेन भन्ने गुनासो छ, सानिमाको शाखा विस्तारको स्थिति के छ ?
नेपाल राष्ट्र बैंकले तोकेअनुसार दुर्गम क्षेत्रहरुका सबै ठाउँमा हाम्रा शाखा सञ्जालहरु विस्तार भएका छन् । हाल हाम्रा ७८ वटा शाखा देशभर विस्तार भएको छ ।
बैंकिङ क्षेत्र सुरक्षित र भरपर्दो भनिरहेको बेला कर्मचारी र सञ्चालकसमेत ठगीमा परेका घटना सार्वजनिक भइरहेका छन् । यो विषयमा के भन्नुहुन्छ ?
राष्ट्र बैंकअन्तर्गत स्थापित बैंक, वित्तीय संस्थाहरुमा राष्ट्र बैंकको र बैंक आफ्नै पनि निर्देशिका, मार्गदर्शन हुन्छ । उक्त निर्देशिका, मार्गदर्शन अवलम्बन गरे/नगरेको बैंकले आन्तरिक रुपमा तथा राष्ट्र बैंकबाट पनि नियमित रुपमा अनुगमन भइरहेको हुन्छ ।
यस कारणले बैंक वित्तीय संस्था सुरक्षित र विश्वसनीय हुन्छन् । यस्ता संस्थाहरुमा संलग्न कर्मचारीहरुको व्यक्तिगत आचरण पनि ठीक हुनु पर्दछ । यदाकदा खराब आचरण भएका व्यक्तिहरुको कारणले तपाईंले भनेजस्तो घटना घटेका सुनिन्छन् । तर त्यस्तो कारणले सजायको भागिदार उक्त व्यक्ति नै हुन्छ । संस्था तथा ग्राहकलाई यस्ता घटनाले कुनै असर गर्दैन । सानिमा बैंकले यस मामिलामा विशेष रुपमा सर्तकता अपनाएको छ ।
बैंकमा कर्जा लिन झन्झटिलो छ भन्ने गुनासो सुनिन्छ, सानिमाले ऋण कसरी उपलब्ध गराइरहेको छ ?
बैंकबाट कर्जा लिँदा एउटा प्रक्रिया हुन्छ, त्यो सबैले पूरा गर्नुपर्दछ । राष्ट्र बैंकले गाइड गरेको आफ्नै निर्देशिका छ, बैंकको आफ्नै हुन्छ । त्यो भित्र रहेर काम गर्दा वित्तीय साक्षरताको अभावमा त्यस्ता गुनासा आएका हुन् । उचित तरिकाले कर्जा प्रवाह भएको हुँदा नै सानिमा बैंकमा खराब कर्जा न्यून छ । यो सानिमा बैंकको सबल पक्ष हो । यस्ता कयौं अन्य पक्षहरु सवल भएकोले स्थापनाकालको छोटै समयमा केमल्स रेटिङको आधारमा सानिमा बैंक धेरै अगाडि छ । कर्जा लिन आउने ग्राहकहरुलाई हामी उचित रुपमा परामर्श दिने गर्छौं र आवश्यक प्रक्रियाहरु पुरा गरेपछि सानिमा बैंकबाट ऋण लिन कुनै झन्झट छैन ।
अमरसिंह शाखाको भावी रणनीति कस्तो तय गर्नुभएको छ ?
हामीले छोट्टै समयमा धेरै ग्राहकलाई समेटेर अगाडि बढेका छौं । उहाँहरुलाई उच्चस्तरीय सेवा सुविधा प्रदान गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरी हाम्रो सामाजिक, आर्थिक, व्यावसायिक लक्ष्य पूरा गर्नेछांै ।
बैंकिङ क्षेत्रमा योजनाबद्ध ढंगले लाग्नुभएको कि संयोगले ?
म खासमा व्यापारिक पृष्ठभूमीबाट आएको हुँ । बैंकमा आउँछु भन्ने ठ्याक्कै योजना थिएन । संयोग नै भयो भनौं । आइकम सक्नेबित्तिकै स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गर्ने संयोग मिल्यो । काम गर्दै जाँदा बैकिङ्ग क्षेत्र आकर्षक भएकाले अरु क्षेत्रबारे सोचिएन र यसैमा निरन्तरता दिँदै गइयो ।
प्रोफेसनल रुपमा यतिका वर्ष काम गरिसकेपछि अर्को क्षेत्र जान गाह्रो पनि हुँदोरहेछ । जुन स्किल आफूसँग छ, त्यो मर्ने हो कि भनेर यसैलाई निरन्तरता दिएर अगाडि बढिरहेको छु । यद्यपि, आफ्नो व्यावसायिक चाहना, परिवार र कर्मचारीको सहायताबाट व्यावसायिक कृषिमार्फत पूरा गरेको छु ।
नयाँ कुरा सुनाउनु भयो, बैंकर भएर पनि कृषिमा कसरी आकर्षित हुनुभयो ?
कृषिप्रधान देश भएर पनि नेपालमा कृषि उत्पादन ज्यादै न्यून र कृषिजन्य सामानहरुको आयात निकै बढिरहेको अवस्था छ । विभिन्न देशहरुबाट आयातित तरकारी तथा फलपूmलहरुमा विषादीको मात्रा एकदम धेरै छ । यस कारणले सबै नागरिकले आ–आफ्नो ठाउँबाट यस क्षेत्रलाई टेवा पुर्याउनु पर्छ भन्ने लागेर म यस क्षेत्रप्रति आकर्षित भएको हुँ । हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने–विदेश पलायन युवाहरुलाई पनि स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने उदाहरण पनि होस् र साथै आफू पनि स्वस्थ खाऔं र अरुलाई पनि स्वस्थ खुवाऔं भन्ने भावनाले म यसप्रति आकर्षित भएको हुँ ।
अहिले तपाई कृषिअन्तर्गत के गर्दै हुनुहुन्छ र बजारको अवस्था कस्तो छ ?
कृषिअन्तर्गत मैले मुख्यरुपमा पशुपालन व्यवसाय सञ्चालन गरिरहेको छु । दैनिक उत्पादन हुने १०० लिटर दूध मेरो फर्मबाट नै छरछिमेकमै खपत हुने गर्छ । यसको साथसाथै पशुहरुको मलमुत्र प्रयोग गरी सिजन अनुसारको अग्र्यानिक तरकारीहरु उत्पादन हुन्छ । गुणस्तरीय तथा सानो स्केलको फर्म भएकोले बजारको मागअनुसार उत्पादन गर्न सकेको छैन ।
उच्चतहको बैंकिङसँगै कृषिमा पनि उदाहरणीय कार्य गर्नुभएको रहेछ, कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
म प्राय: बैंकको काममा नै व्यस्त हुन्छु । मलाई कृषिमा दैनिक रुपमा हुने कार्यहरुमा मेरो श्रीमती ईश्वरी श्रेष्ठले सघाइरहनुभएको छ । बजार तथा व्यवस्थापकीय कार्यमा फुर्सद मिलाएर मैले हेर्ने गरेको छु ।
अब फेरि बैंकतिरै फर्कौ, बैंकिङ क्षेत्रबाट सेवा दिएको महसुस हुन्छ कि जागिर खाएको ?
कुनै पनि क्षेत्रमा जब मनैदेखि रमाएर काम गरिन्न त्यसबाट सन्तुष्टिसँगै सफलता प्राप्त गर्न सकिँदैन । बैंकिङ क्षेत्र आफैंमा एक सेवा प्रदायक र उच्च प्रतिस्पर्धा हुने संस्था हो । यसकारण जागिर खाएको भन्ने मानसिकताले सफल हुन सकिँदैन ।
तपाईं व्यक्तिगत रुपमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नभइकन कुनै पनि क्षेत्रमा काम गर्न सकिँदैन । सन्तुष्ट भएमात्र रिजल्ट ल्याउन सकिन्छ । आफ्नो पर्फमेन्स देखाउन सकिन्छ । व्यक्तिगत रुपमा म निकै सन्तुष्ट छु ।






