गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको चुनावी सरगर्मी अहिले व्यापक छ । चुनावी सरगर्मीले सबैको चासो पनि बढेको छ । उम्मेदवारहरु चुनावी रौनक आफ्नो पक्षमा पार्न विभिन्न दौडधुपमा छन् । चुनाव सामान्यत: जित्नकै लागि उठ्ने हो । चुनावी प्रतिस्पर्धा एक किसिमको पहिचानसँग जोडिएको मुद्दा पनि हो । सामान्यत: चुनाव तीन पटक जित्नुपर्ने हुन्छ । चुनावका लागि पहिलोपटक म चुनाव उठ्छु भनेर जित्न सक्नुपर्छ । त्यस्तै, मतदाताहरुले चुनाव उठ्न दिएको प्रेरणा अर्को जित हो, त्यस्तै मतदान भएपछि गणना गरेपछिको जित चुनावी तेस्रो जित हो । त्यसैले चुनावमा सहभागी भएपछि परिणामले हारजित हुन्छन् नै । तर, दुईपटक जित हात पारिसकेको हुन्छ ।
चुनावी आचारसंहितामा प्यानल बनाउन नपाउने व्यवस्था छ । तर एनआरएन बेलायतको चुनावमा प्रष्ट दुई प्यानल देखिएका छन् । पुनम गुरुङको एउटा प्यानल छ भने अर्को शेर सुनारको प्यानल छ । उनीहरु दुवै जना लामो समयदेखि सामाजिक क्षेत्रमा योगदान दिँदै आएका व्यक्तिहरु हुन् ।
त्यसो त, उनीहरु दुवैजना वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । उनीहरुले एकले अर्कालाई सम्मान गर्छन् । सौहार्दता छ । सामाजिक अभियानहरुमा महिला भएर पनि अग्रपंक्तिमा देखिने पुनम हुन, त्यस्तै शेर पनि सामाजिक काममा अग्रसर हुने व्यक्तिमध्येमै पर्छन् । त्यसैले पुनम र शेरबीचको प्रतिस्पर्धालाई एउटा प्राविधिक हारजितका रुपमा मात्र लिनेहरु पनि छन् ।
पुनम र शेरबीचको चुनावी प्रतिस्पर्धालाई कतिपयले राजनीतिक रुपमा व्याख्या पनि गर्छन् । तर उनीहरु दुवैको टीम एउटा पार्टीको जस्तो मात्र, एउटा जातिको जस्तो मात्र देखिँदैनन् । त्यसैले पनि यो विशुद्ध प्रतिस्पर्धा हुने देखिन्छ । उनीहरु अहिले चुनावी प्रतिस्पर्धामा भएर पनि एकअर्कामा सौहाद्र्धपूर्ण रुपमा अघि बढ्ने विश्वास समेत गर्न सकिन्छ ।
चुनावी प्रक्रिया एउटा प्राविधिक रुप मात्र हो । यो प्रक्रियामा एकको जित र एकको हार हुनेछ । तर, सामाजिक रुपमा उनीहरु दुवैले जित्नुपर्छ । उनीहरु दुवैले जित्ने भनेको चुनावी प्रक्रियापछि पनि उत्तिकै सक्रियता, सहकार्य, समन्वय र सहयोगी भावना हो । एकले अर्कालाई सहयोग गर्ने, एकले अर्काको परामर्शमा अघि बढ्ने प्रक्रियाले ने अघि बढ्नु नै बुद्धिमानी ठहर्छ ।






