लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको विशिष्ट प्रतिभा सम्मान गीतकार शिवशङ्कर थापा मगर र प्रतिभा पुरस्कार कवि तथा कलाकार चन्द्र रानाहँछालाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेस र महासचिव चोक गुरुङद्वारा जारी विज्ञप्तिका अनुसार थापालाई एक लाख रुपैयाँ राशिको विशिष्ट प्रतिभा सम्मान र रानाहँछालाई एक लाख रुपैयाँ राशिको प्रतिभा पुरस्कार प्रदान गरिनेछ । दुवै पुरस्कार आगामी मङ्सिरमा काठमाडौँमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
विसं २००३ वैशाख १५ गते धनकुटाको चुलीवन, डाँडागाउँमा जन्मिएका थापा युवा अवस्थादेखि नै गीत लेखनमा सक्रिय छन् । उनले २०२० सालदेखि गीत लेख्न थालेका थिए । २०२६ सालमा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरी गीत रेकर्ड गराएका उनका गीत २०२८ सालदेखि रेडियो नेपालबाट प्रसारण हुन थालेका थिए ।
यसैगरी, २०३७ सालमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडामा जन्मिएका रानाहँछा साहित्य लेखन र कलाकारितामा सक्रिय छन् । बाल्यकालदेखि नै चित्रकलामा रुचि राख्दै आएका उनले गीत, कविता, कथा तथा चलचित्रका पटकथा लेखनमा समेत योगदान पुर्याएका छन् ।







