काठमाडौं । भारत र नेपालको संयुक्त लगानीमा निर्मित पाइपलाइनबाट औपचारिक रूपमा नेपालमा पेट्रोलियम पदार्थ आउन थालेको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म बनेको उक्त संरचना दक्षिण एशियाको पहिलो अन्तरदेशीय पाइपलाइन भएको छ ।

मङ्गलवार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आआफ्नै देशबाट रिमोट थिचेर उक्त पाइपलाइनको उद्घाटन गरेका छन् । उद्घाटनको औपचारिक कार्यक्रममा पहिला परियोजनाबारे निर्मित भिडिओ देखाइएको थियो । त्यसपछि नेपालबाट ओली र भारतबाट मोदीले भिडिओ कन्फरेन्सबाट बोलेका थिए।
प्रधानमन्त्री ओलीले पेट्रोलियम पाइपलाइन उद्घाटन गरेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको घोषणा गरे । निगमले डिजेल तथा मट्टितेलको नयाँ बजार मूल्य प्रतिलिटर ९५ र पेट्रोलको १०७ रुपैयाँ तोकेको छ । तोकिएको समयभन्दा अगाडि नै पाइपलाइन निर्माण परियोजना सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्दै पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने गरेको समय तथा पैसा बचत हुने, सडकमा गाडीको चाप घट्ने तथा वायुप्रदूषण घट्ने आफ्नो विश्वास भएको उनले बताए ।
उनले यो परियोजनाबाट दुई देशबीचको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे । पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल आउन थालेपछि ढुवानीमा खर्च हुने वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी रकम जोगिने बताइएको छ।
मोदीले उक्त द्विपक्षीय परियोजनाको उद्घाटन गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । सन् २०१९ मे महिनामा ओलीले भारत भ्रमण गरेको उल्लेख गर्दै उनले भने, “हाम्रो संयुक्त प्रयासमा द्विपक्षीय परियोजनाहरूमा प्रगति हुँदै गएकोमा मलाई खुसी लागेको छ।”
उक्त पाइपलाइनको कुल लम्बाइ ६९.२ किलोमिटर छ। त्यसमध्ये ३६.२ किलोमिटर भाग नेपालमा छ ।






