
पोखरा । सहारा क्लब पोखराको २१ औं अधिबेशन तथा १३ औं साधारण सभाले केशबबहादुर थापालाई पुनः आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको छ । अधिबेशनले वरिष्ठ उपाध्यक्षमा हरिराम गुरुङ (सुरज), उपाध्यक्षमा विश्वराज बराल, महासचिबमा रामजी अधिकारी, सचिबमा सुनिल राना मगर, कोषाध्यक्षमा राजु लालचन र सह कोषाध्यक्षमा विनु राना मगर निर्वाचित भएका छन ।
आगामी दुई वर्षको कार्यकालका लागि कार्य समितीको सदस्यमा रोजिना गुरुङ, तिलक क्षेत्री अधिकारी, सन्दिप सुवेदी, गंगाराज पौडेल र विष्णु कार्की निर्वाचित भएको सहारा क्लब पोखराले जनाएको छ ।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले खेलकूदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लवको भूमिका प्रशंसायोग्य भएको मात्रै बताएनन अब प्रदेश सरकारनै सहारा बनेर सहारा दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन । सामाजिक क्षेत्रमा क्लवले देखाएको सकृयता अरुका लागि पनि अनूकरणीय भएको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारबाट सहारा एकेडेमिको प्रशासनिक सञ्चालनमा ३० लाख रुपैया सहयोग गर्ने घोषणासमेत गरे ।
राज्यले निभाउनु पर्ने उत्तरदायित्व क्लवले पुरा गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सस्थाको सञ्चालनमा सरकारले नियमित बजेट नै व्यवस्था गरि सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका हुन । उनले मुलुक र समाजको हितमा कार्य गर्ने सामाजिक संघसंस्थाको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
सो अवसरमा मुख्यमन्त्री गुरुङले खेल क्षेत्रको विकासका लागि पत्रकारिताको माध्यमबाट योगदान पु-याएको भन्दै क्लवबाट पत्रकार सन्देश श्रेष्ठलाई नगद सहित सम्मान गरे ।







