काठमाडौँ । सरकारले बाँके घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि संसद्को अवरोध हटेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारका तर्फबाट कानुनमन्त्री भानुभक्त ढकालले दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘घटनामा संलग्न व्यक्तिहरुलाई कारबाहीको लागि दिएको निवेदनमा दर्ता भइसकेका छन्’ मन्त्री ढकालको जवाफ थियो, ‘गल्ती नगरेका कोही फस्दैनन्, गल्ती गरेका कोही उम्किँदैनन्। दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नका लागि सरकार प्रतिबद्ध छ।’
उक्त घटनामा संलग्नलाई कारबाही गर्ने विषय यसअघि पनि प्रमुख दलहरुको बैठकमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले संसद्बाटै स्पष्ट पारिसकेको मन्त्री ढकालले उल्लेख गरे।
बुधबारको बैठक प्रारम्भको घोषणा हुनासाथ कांग्रेस सांसदहरु ढ्याप ढ्याप गर्दै उठेका थिए। त्यसपछि सभामुख कृष्णबहादुर महराले कोही बोल्न चाहनुहुन्छ? भनेपछि कांग्रेस सांसद् दिलेन्द्रप्रसाद बडूले हात उठाए।
सभामुखले समय दिएपछि बोलेका सांसद बडूले दोषीलाई कारबाही गर्ने विषयमा पुन: सरकारको ध्यानाकर्षण गराएका थिए। उनले घटनालाई राजनीतिकरण गर्न, ढाकछोप गर्न खोजिएको आरोप लगाउँदै सरकारको स्पष्ट जवाफ नआएसम्म सदन चल्न नदिने अडान दोहोर्याए। त्यसपछि कांग्रेस सांसदहरु उठेर विरोध जनाए।
लगत्तै सभामुख महराले सरकारको तर्फबाट कानुनमन्त्री ढकालले बोल्न समय माग गरेको जानकारी गराएपछि कांग्रेस सांसदहरु बसेका थिए।
कांग्रेसको बुधबार बिहान बसेको संसदीय दलको बैठकले पनि सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने निर्णय गरेको थियो ।कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत गत भदौं २६ गते बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी सभापति किरण कोइराला लगायत माथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेका थिए ।आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ।
कांग्रेसले केही दिनदेखि लगातार रुपमा संसद् अवरुद्ध गर्दै आएको थियो ।






