काठमाडौं । ‘शान्ति, सुरक्षा, प्रतिवद्धता’ मूलमन्त्रका साथ अघि बढेको सशस्त्र प्रहरी बलमा ३७ हजार जतिको दरबन्दी छ । ती दरबन्दीमा महिलाको संख्या न्यून नै छ । तर, विगतको तुलनामा सशस्त्र प्रहरी बलले आफ्नो सांगठनिक संरचनालाई समावेसी बनाउने क्रममा महिला सहभागिता उल्लेख्य वृद्धि गर्दै लगेको देखिएको छ ।
सशस्त्र प्रहरी बलको स्थापना २०५७ सालमा भयो । महिलाको भर्ना भने २०६० सालमा लिने क्रम सुरु भयो । त्यो पनि प्राविधिक तहमा भर्ना लिन थालिएको थियो । इन्फेन्ट्रीमा त २०६१ सालबाट मात्र भर्ना लिन थालिएको थियो । सशस्त्र प्रहरी बलमा महिलाको संख्या दुई हजार तीन सय ९९ छ । तीमध्ये ईन्फेन्ट्रीतर्फ बढी संख्या छन् । त्यसतर्फ दुई हजार दुई सय ८९ महिला छन् भने प्राविधिकतर्फको महिलाको संख्या एक सय १० जना रहेको छ ।
प्राविधिकमा एसपी, इन्फेन्ट्रीमा डीएसपी
सशस्त्र प्रहरी बल, नेपालमा हाल महिलातर्फ ईन्फेन्ट्रीमा सबैभन्दा माथिल्लो तहमा सशस्त्र प्रहरी नायव उपरीक्षक तहसम्म पुगेका छन् । ती महिलाहरुमा यमुना सिंखडा, रजनी थापा र लक्ष्मी थपलिया छन् ।
महिलातर्फ सशस्त्र प्रहरी निरीक्षक १६ जना छन् भने सशस्त्र प्रहरी नायव निरीक्षक सात जना छन् । त्यस्तै, सशस्त्र प्रहरी सहायक निरीक्षक १० जना, सशस्त्र प्रहरी बरिष्ठ हवल्दार चार जना, सशस्त्र प्रहरी हवल्दार ४२ जना, सशस्त्र प्रहरी सहायक हवल्दार १४९ छन् । सबैभन्दा बढी महिलाको संख्या जवान तहमा छ । जवान तहमा महिलाएक हजार ८५१ जना कार्यरत छन् ।
उता प्राविधिकतर्फ भने महिलाहरु सशस्त्र प्रहरी उपरीक्षक तहसम्म पुगेका छन् । डा. दिप्ता लामा, डा. मिना कुँवर जोशी, डा. निशिता पाठक, डा. सौजन्य कर्माचार्य र डा. सुमित्रा थापा सशस्त्र प्रहरी अस्पतालमा कार्यरत चिकित्सक हुन् ।
प्राविधिकतर्फनै महिला सशस्त्र प्रहरी नायव उपरीक्षक नौं जना तथा सशस्त्र प्रहरी निरीक्षक २९ जना, सशस्त्र प्रहरी नायव निरीक्षक ५७ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक एकजना, सशस्त्र प्रहरी बरिष्ठ हवल्दार एकजना, सशस्त्र प्रहरी हवल्दार दुईजना तथा सशस्त्र प्रहरी जवान छजना छन् ।
एसपी दिप्ता र मिना सिनियर
सशस्त्र प्रहरी बलमा महिलाको पहिलो भर्ना २०६० सालमा सुरुवात भएको हो । पहिलोपटक प्राविधिकतर्फ भर्ना थालिएको थियो । त्यसरी भर्ना हुनेमा डा. दिप्ता लामा र डा. मिना कुँवर (जोशी) सशस्त्र प्रहरी बलमा पहिलोपटक भर्ना भएका महिला हुन् ।
प्रहरी निरीक्षकमा भर्ना भएका लामा र कुँवर दुवैजना अहिले नेपाल एपीएफ अस्पताल काठमाडौंमा कार्यरत छन् । उनीहरु दुवैजना २०६० असार ३० गते भर्ना भएका थिए । त्यस्तै २०६१ सालमा भर्ना भएकी डा. निशिता पाठक पनि अहिले एसपी दर्जाकी हुन् । उनी २०६१ कात्तिक १९ गते भर्ना भएकी हुन् । उनी पनि नेपाल एपीएफ अस्पतालमै कार्यरत छन् ।
डा. सुमित्रा थापा र डा. सौजन्य कर्माचार्य २०६२ साल फागुन २१ गते सशस्त्र प्रहरी बलमा भर्ना भएका थिए । उनीहरु अहिले एसपी भएका छन् । उनीहरु पनि नेपाल एपीएफ अस्पताल काठमाडौंमै कार्यरत छन् ।
डा. समृद्धि बस्नेत २०६६ साल मंसिर १९ गते सशस्त्र प्रहरीमा प्राविधिकतर्फ भर्ना भएका थिए । हाल उनी डीएसपी दर्जामा पुगेका छन् । त्यस्तै, इञ्जिनियर डिना केसी र डा. स्वेता श्रेष्ठ २०६८ माघ १९ गते सशस्त्र प्रहरी बलमा भर्ना भए ।
त्यस्तै, प्राविधिकतर्फ लक्ष्मी अधिकारी, अनिता अधिकारी, बिनिता खौराल, अमृता श्रेष्ठ, राविधका श्रेष्ठ, रमिला दुलाल सशस्त्र प्रहरीको डीएसपी पदमा छन् । दुलाल बाहेक २०६० सालमा भर्ना भएका हुन् । दुलाल भने २०६१ सालमा भर्ना भएकी थिइन् । एपीएफको प्राविधिकतर्फ २९ जना इन्स्पेक्टरमा पुगिसकेका छन् । ५७ जना सई छन् । एकजना असई छन् ।
इन्फेन्ट्रीमा यमुना, लक्ष्मी र रजनी
सशस्त्र प्रहरी बलको इन्फेन्ट्रीतर्फ यमुना सिंखडा सबैभन्दा सिनियर अधिकृत महिला हुन् । उनी हाल डीएसपी छन् । उनी ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा कार्यरत छन् । २०६१ असार २५ गते उनी सशस्त्र प्रहरी बल प्रवेश गरेकी हुन् ।
युमनासहित सशस्त्र प्रहरी बलको इन्फेन्ट्रीमा तीन डीएसपी छन् । डीएसपी लक्ष्मी थपलिया र रजनी थापा भने २०६२ असार २२ गते सशस्त्र प्रहरी बलमा प्रवेश गरेका हुन् ।
लक्ष्मी नम्बर १९ गण हेडक्वार्टर (विशेष कार्यदल) बंगलामुखी काठमाडौंमा छन् भने रजनी प्रधान कार्यालयको मानवस्रोत विभागमा छन् ।
सशस्त्रमा १६ इन्स्पेक्टर महिला
सशस्त्र प्रहरी बलको इन्फेन्ट्रीतर्फ १७ जना इन्स्पेक्टर कार्यरत छन् । यो संख्या प्राविधिकतर्फ भन्दा थोरै हो ।
प्राविधिकभन्दा इन्फेन्ट्री बढी जोखिमपूर्ण भएकाले पनि थोरैले मात्र भर्नामा इच्छा देखाउने गरेको बताइन्छ ।
गंगा केसी, उर्मिला थापा, माला अवा, झुपाकुमारी पन्थी एकैदिन इन्स्पेक्टर भएका हुन् । उनीहरु २०६२ फागुन २१ गते सशस्त्र प्रहरी निरीक्षक भएका हुन् ।
गंगा १९ नम्बर गण हेडक्वार्टर (विशेष कार्यदल) बंगलामुखीमा कार्यरत छन् । त्यस्तै उर्मिला राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा छन् । त्यस्तै माला १९ नम्बर गण हेडक्वार्टर (विपद उद्धार) काठमाडौंमा छन् । त्यस्तै झुपा ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालयमा कार्यरत छन् ।
त्यस्तै, प्रमिला श्रेष्ठ २४ नम्बर गुल्म हेडक्वार्टर (प्रधान कार्यालय सुरक्षा) काठमाडौंमा कार्यरत छन् । उनले २०५९ पुस १९ गते सशस्त्र प्रहरी बल प्रवेश गरेका हुन् ।
इन्स्पेक्टर गायत्री केसी नम्बर १८ गण हेडक्वार्टर निलबाराहीमा कार्यरत छन् । उनी २०६६ मंसिर २१ गते सेवा प्रवेश गरेकी हुन् । त्यस्तै, सत्यदेवी बस्नेत मानवस्रोत विभागमा कार्यरत छन् । उनी २०६७ चैत २८ गते सेवा प्रवेश गरेकी हुन् ।
त्यस्तै, अनिता मैया न्हेम्हाफुकी, सुशीला पाण्डे, गोमा परवार र दुर्गादेवी सुनुवार एकै दिन सेवा प्रवेश गरेका सशस्त्र प्रहरी निरीक्षक हुन् । उनीहरु २०५९ पुस १९ गते सेवा प्रवेश गरेका हुन् ।
अनिता नम्बर १९ गण हेडक्वार्टर (विपद उद्धार) काठमाडौंमा कार्यरत छन् । त्यस्तै, सुशीला पशुपतिनाथ बाहिनी, गोमा गढीमाई बाहिनी मकवानपुर, दुर्गादेवी नम्बर १२ गुल्म हेडक्वार्टर (राजश्व चुवाहट नियन्त्रण) सुनसरीमा कार्यरत छन् ।
सशस्त्र प्रहरी निरीक्षक पार्वती अधिकारी र सम्झना देउजा मानवस्रोत विभागमा कार्यरत छन् । पार्वती २०६० भदौ २२ गते सेवा प्रवेश गरेकी हुन् भने सम्झना २०७२ असोज २० गते इन्स्पेक्टर भएकी हुन् । सिता खत्री, गीता ज्ञवाली र मन्दिरा सुवाल २०७४ भदौ २ गते इन्स्पेक्टर भएका हुन् । सिता निरबाराही गण, गीता दक्षिणकाली गण र मन्दिरा आइजीपीको सचिवालयमा कार्यरत छन् ।
समावेसी नीतिमा सशस्त्र
राज्यका सबै निकायमा समावेसी नीति लागू भएको छ । संविधानले सुनिश्चित गरेको समावेसितालाई सशस्त्र प्रहरी बलले अवलम्बन गर्दै आएको दावी गरेको छ । महिला सहभागिता साढे ६ प्रतिशतभन्दा बढी भएको छ ।
भर्ना प्रक्रियादेखि नै समावेसितालाई गम्भीर रुपमा लिएर सशस्त्र प्रहरी बलले काम गरिरहेको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल बताउँछन् ।
सशस्त्र प्रहरी बलले युएन मिसनमा पठाउने सवालमा पनि महिलालाई प्राथमिकता दिने गरेको दावी गरेको छ । त्यस्तै, बढुवामा समेत समावेसिताका आधारमा महिलाले प्राथमिकता पाउने गरेका छन् ।






