घलेभञ्ज्याङ । पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले चाडपर्वमा आपराधिक घटना हुन नदिन सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्ने बताएका छन् ।
घलेभञ्ज्याङमा आइतबार गाउँपालिका र इलाका प्रहरी कार्यालय पञ्चकन्याको संयुक्त आयोजनामा भएको ‘समुदाय–प्रहरी साझेदारी’ एवं शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष तामाङले सो धारणा राखेका हुन् । उनले चोरी–डकैती, हुलहुज्जत जस्ता आपराधिक कार्य हुन नदिन प्रहरीलाई सहयोग गर्नसमेत गाउँपालिकावासीलाई आग्रह गरे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पञ्चकन्याका प्रहरी नायव निरीक्षक रामेश्वर सहनीले गाउँपालिका र अध्यक्षको निर्देशन आफूहरुले अक्षरश पालना गराउन टोली परिचालन गर्ने विश्वास दिलाए । प्रहरी नायव निरीक्षक सहनीले चाडपर्वमा कानुनविपरीत जुवातास खेल्ने, जाँड–रक्सी सेवन गरी हुलहुज्जत गर्ने, झगडा गर्नेजस्ता क्रियाकलाप भएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी दिए ।
पालिकाका पाँच वटै वडामा आवाञ्छित क्रियाकलाप गरेको पाइएमा तत्काल नियन्त्रण लिने गरी इलाका प्रहरीले योजना बनाएको उनले बताए ।
नेपालीहरुको दसैं तथा दिपावली र छठमा विभिन्न घटना, आपराधिक क्रियाकलापहरु नियन्त्रण गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । प्रहरीले घरेलु मदिराजन्य पद्धार्थहरु बिक्री वितरणमा रोक लगाउने समेत बताएको छ ।
गाउँपालिका अध्यक्ष तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर ३ का महिला समूह, प्रहरी, शिक्षक, कर्मचारी, बुद्धिजीवी लगायत करिब ८० जनाको उपस्थितिमा थियो ।
बिहान साढे ९ बजे समयमा सुरु भएको कार्यक्रम दिउँसो १ बजे समापन गरिएको थियो ।
यस्तै गत बिहीबार इलाका प्रहरी पञ्चकन्याका प्रहरी नायव निरीक्षक सहनीको नेतृत्वमा डेंगु र आत्महत्याविरुद्धको सचेतना कार्यक्रम पनि गरिएको थियो ।



यो पनि
प्रनानिको नेतृत्वमा घलेभञ्ज्याङ्गमा डेंगु र आत्महत्याविरुद्धको सचेतना कार्यक्रम






