काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ। सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ। यो प्रकृतिको सुरक्षा राजकीय भ्रमणमा आउने अति विशिष्ट व्यक्ति (भीभीआईपी) लाई दिइन्छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ‘जेड प्लस’ सुरक्षा दिइएको थियो।

आफ्ना राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सरकारका मन्त्रीसँगको भेटलाई तीव्रता दिएकी छन्। गृहमन्त्री रामबहादुर थापा बादलसँगको भेटमा यान्छीले आफ्ना राष्ट्रपतिको भ्रमणलाई विवादरहित र त्रुटिरहित ढंगले सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेकी छन्।
गृहमन्त्री बादलले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगै सेनाका उच्च अधिकारीलाई डाकेर राष्ट्रपति सीको भ्रमण सुरक्षामा कुनै त्रुटि हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइसकेका छन्।
राष्ट्रपति सीको भ्रमणमा चीनबाटै चार वटा विशेष गाडी नेपाल ल्याउने तयारी चीनले गरेको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयमा समेत चीनले लबिङ गरिसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका उतैबाट सुरक्षाकर्मी ल्याइएको थियो ।
सरकारले राष्ट्रपति सीको भ्रमणमा चार वटा चुनौतीलाई केन्द्रित गरेर सुरक्षा योजना बनाइरहेको छ। स्वतन्त्र तिब्बतका नाममा हुनसक्ने विरोध, चीनले हालै पारित गरेको तर फिर्ता गरिसकेको चीन र हङकङवीचको सुपुदर्गी सन्धीलाई लिएर त्यसको विरोधमा हुनसक्ने गतिविधि र राष्ट्रिपतिमाथि हुनसक्ने सबै खालको सुरक्षा चुनौतीलाई लिएर समेत सुरक्षा योजना तयारी भइरहेको उच्च सुरक्षा स्रोतले बतायो। अन्नपूर्ण पोस्टमा समाचार छ ।






