महरा प्रकरणमा मानव अधिकार आयोगले बनायो अनुसन्धान टोली

SHARE:

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन सभामुख कृष्णबहादुर महराबाट संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि दुर्व्यवहार भएको भनिएको घटना अनुसन्धान गर्न शुक्रबार तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गरी गत असोज १२ गते राति भएको घटना अनुसन्धान गर्न आयोगका निर्देशकको नेतृत्वमा समिति गठन गरेको जनाएको छ। आयोगका सचिव एवं प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा समिति सदस्यको नाम भने खुलाइएको छैन । आयोगले विज्ञप्तिमा शुक्रबार नै नेपाल प्रहरीलाई पत्राचार गरी उक्त घटनाका सम्बन्धमा प्रहरीले हालसम्म गरेका कामकारबाही तथा पीडित र सम्बन्धित पत्रकारको सुरक्षा सम्बन्धमा भएका व्यवस्थाबारे जानकारी माग गरिएकोसमेत जनाएको छ । आयोगले घटना घटेकै दिनदेखिका सञ्चार सूचनाको अनुगमन गरिरहेको समेत उल्लेख गरेको छ।

यसअघि महिला तथा मानवअधिकारका क्षेत्रमा क्रियाशील १७ वटा सामाजिक संघसंस्थाले घटना छानबिन गर्न मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई ध्यानाकर्षण गराएका थिए। महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल, महिला पुनःस्थापना केन्द्र (ओरेक), तान नेपाल (लुम), साथी, द स्टोरी किचेन, वातावरणीय कृषि तथा विकास केन्द्र (केड), शक्ति समूह, महिलाका निम्ति महिला मञ्च नेपाल, नेपाल महिला एकता समाज नेपाल, तरंगनी महिला अधिकार प्रशिक्षण केन्द्र, महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन), पौरखी नेपाल, नेपाल अपांग महिला संघ, नील हिरा समाज, दिगो सामाजिक विकासका लागि मित्रता, जागृति महिला महासंघ हिमराइट्स र सिविन नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै सत्यतथ्य अध्ययन गर्न अपिल गरेका हुन्।

‘देशकै उच्च पद र राजनीतिक हैसियत भएका व्यक्ति नै यस घटनाका आरोपित व्यक्ति भएकाले प्रभावितले दबाबमा आएर आफ्नो वा परिवारको सुरक्षाको जोखिमका कारण भनाइ परिवर्तन गरेको हुन सक्छ। यसर्थ मानवअधिकारको संरक्षण, प्रवर्द्धन र मानव अधिकार हननका घटनाहरूको अन्वेषण र अनुगमन गर्ने जिम्मेवारी रहेका संवैधानिक आयोगहरू राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई यस घटनाको सत्यतथ्य अध्ययन गरी वास्तविकता पुष्टिका लागि कार्य गर्न हामी अपिल गर्छौं,’ उनीहरूको विज्ञप्तिमा उल्लेख छ।

शाहीमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएपछि महराले सभामुख पदबाट राजीनामा दिइसकेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!