एटा सम्वाददाता
अल्डरसट । बेलायतमा हालै सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ३ जना काउन्सिलर पदमा निर्वाचित भएका छन् ।
पुर्ख्यौली घर कास्की भई हाल लन्डन बस्दै आएका भूतपूर्व ब्रिटिस गोर्खा सैनिक लक्ष्य गुरुङ सत्तारुढ कन्जरर्भेटिभ पार्टीको तर्फबाट बार्नेट काउन्सिलको हेल वार्डबाट निर्वाचित भएका छन् । त्यस्तै, स्याङ्जा पुख्र्यौली घर भई हाल ओकिङ्ग बस्दै आएका सत्तारुढ कन्जरर्भेटिभ पार्टीकै तर्फबाट भूतपूर्व ब्रिटिस गोर्खा मेजर चित्र राना ओकिङ्ग बरो काउन्सिलको काउन्सिलरमा निर्वाचित भएका छन् ।
गोर्खा जिल्ला पुर्ख्यौली घर गोर्खा भई लन्डन हन्स्लो बस्दै आएका आएका भूतपूर्व ब्रिटिस गोर्खा सैनिक विष्णु गुरुङ लेबर पार्टीकोतर्फबाट लन्डन बरो अफ हन्स्लोको काउन्सिलर पदमा निर्वाचित भएका हुन् ।
प्राप्त जानकारीअनुसार यसपटकको स्थानीय निर्वाचनमा लक्ष्य गुरुङ, सुरेन्द्र ढुंगाना, आनन्द राई र चित्र रानाले कन्जर्भेटिभ पार्टीबाट काउन्सिलर पदमा उम्मेदवार दिएका थिए । त्यस्तै, कमल गुरुङ, विष्णु गुरुङ र लीला सेलिङ्ग मावो लेबर पार्टीबाट उम्मेदवारी दिएका थिए । ७ जनामध्ये ३ जना नेपाली विजयी भएका हुन् । यसअघिको निर्वाचनमा समेत थुप्रै नेपालीहरु काउन्सिलर बनेका थिए । यसअघि काउन्सिलर रहेका मेजर चित्र राना र विष्णु गुरुङ पुनः निर्वाचित भएका हुन् ।
त्यस्तै, विष्णु गुरुङले उपमेयरको जिम्मेवारी सम्हालिसकेका छन् । ४ वर्ष कार्यकाल हुने काउन्सिलर पदको निर्वाचन भने केही वर्षको अन्तरालमा दुई पटकमा गरिँदै आएको नवनिर्वाचित काउन्सिलर लक्ष्य गुरुङले जानकारी दिए ।
बेलायतमा नेपालीहरुको वृद्धि सँगसँगै पछिल्लो समय स्थानीय राजनीतिमा समेत नेपालीहरुको सहभागीता बढ्दै आएको छ ।






