झोर-गुर्जे-छहरे सडक स्तरोन्नतिका लागि हदै प्रयत्नमा छौं : सांसद् तामाङ

SHARE:

एटा संवाददाता

तस्बिर सौजन्य : भरत लामा

नुवाकोट । पूर्वमन्त्री एवं सांसद हितबहादुर तामाङले टोखा-झोर-गुर्जेभञ्ज्याङ-छहरे सडक स्तरोन्नतिका लागि हदैसम्मको प्रयत्नमा रहेको बताएका छन् ।

नुवाकोट प्रवेश गर्ने नाकाहरुमध्ये छोटो टोखा-झोर-गुर्जेभञ्ज्याङ-छहरेको दयनीय अवस्थाबाट मुक्त गर्न आफूहरु लागिपरेको उनले बताएका हुन् । एक सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामीले मन्त्रालयमा कुरा गरिराखेका छौं । डिजीसँग पनि कुरा गरिराखेका छौं । जिल्लाका डिईलाई कति पटक भनियो, भनियो । यसका लागि हदैसम्म प्रयत्न गरिराखेका छौं ।’

टोखा-झोर-गुर्जेभञ्ज्याङ-छहरेको अवस्था दयनीय छ । बर्खामा निकै जोखिम र कष्टकर यात्रा गरेका नुवाकोटवासीलाई हिउँद लागे पनि सहज छैन । २८ किलोमिटरको उक्त सडक खण्डको कुनै क्षेत्रको एक किलोमिटर बाटो पनि सद्धे छैन । कहीं कहीं ढलान गरिएका खण्डमा मात्र गाडी सजिलो गरी गुड्छन् । बाँकी ठाउँमा दैनिक जात्रै मच्चिन्छ । जुन बाटोमा अहिले बस, ट्रिपर, लगायत ठूला सवारी साधन जसोतसो चलाइरहेका छन् भने साना सवारीलाई अत्यधिक गाह्रो छ ।

नुवाकोट जिल्लामा पटक-पटक अर्थमन्त्री रहँदा कांग्रेस नेता रामशरण महतको पालामा सडक बन्न सकेन । जिल्लाका अरु नेतृत्वले पनि केही करोड बजेट छुट्याएर सडक निर्माणलाई प्राथमिकता दिएको भए अहिले लाजमर्दो अवस्था नबन्ने सांसद तामाङ बताउँछन् । ‘हिजो जिल्लाको नेतृत्व गरेकाले १०/२० करोड छुट्याइदिएको भए अहिलेकोअवस्थामा रहने थिएन’ उनले भने, ‘डबल लेन सडक बन्थ्यो । जिल्लामा सहज ढंगले प्रवेश गर्न सकिन्थ्यो ।’

उनले नेतृत्वको कमजोरी, कर्मचारीको ढिलासुस्ती र ठेकेदारको लापरबाहीले गर्दा नयाँ निर्वाचित जनप्रतिनिधिहरुमाथि दोष थोपर्न खोजिएको भन्दै असन्तुष्टि जनाए । ‘बुझाइ के छ भने अहिलेको नेतृत्व (जनप्रतिनिधिले) ले गर्न चाहेन, गरेन भनेर पार्न खोजिएको छ । तर हामी लागिराखेका छौं । प्रशासनिक सहयोग चाहिरहेको छ ।’

आफू निर्वाचित हुनासाथ सम्बन्धित मन्त्री र निकायसँग कुरा गरे पनि प्रशासनले असहयोग गर्ने मात्रै नभई हल्का र ओठे जवाफ दिने गरेको सांसद तामाङले अनुभव सुनाए । उनले भनेका छन्, ‘मैले डिजीसँग कुरा गर्दा त्यहाँ सुरुङमार्ग बन्ने भइराखेको छ । अरबौं खर्च नगरी त्यो बन्दैन । सुरुङमार्ग बन्ने हुँदाहुँदै त्यो बाटोमा किन खर्च गर्ने भन्ने ओठे जवाफ फर्काए ।’

सडकमार्ग मात्रै नभइ सांसद तामाङ सुरुङमार्ग निर्माणको प्राथमिकता दिइरहेको बताउँछन् । उनले चालु आर्थिक वर्षमा सुरुङ मार्ग निर्माण अध्ययनका लागि आफ्नै पहलमा ४० लाख रुपैयाँ पारिएको दाबी गरे । टोखा-छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा गत असोज २६ गते समझदारी भइसकेको छ ।

झोर-छहरे करिब ५ किमि सुरुङ बन्ने भए पनि शिवपुरी गाउँपालिकाका अधिकांश भेग र पञ्चकन्यावासीले समेत उक्त सडक प्रयोग गर्नेछन् । जसलाई स्तरोन्नति नगरी सुखै छैन ।

राजनीतिक नेतृत्व आफ्नो दायित्वमा अडिग रहेको भन्दै पूर्वमन्त्री तामाङले प्रशासन र ठेकेदार जिम्मेवार हुनुपर्ने नभए कारबाही गर्नु पर्नेमा जोड दिए । ‘हाम्रो निर्देशन दिने, नीति निर्माण गर्ने काम हो, त्यसमा चुक्नु हुँदैन’ उनले भने, ‘बनाको नीति, योजना, कार्यक्रम कार्यान्वयन गर्ने सरकारका सम्बन्धित निकायहरु छन् । तिनीहरुले तदारुकताका साथ गर्नुपर्छ, गराउनुपर्छ । ठेकेदारहरुले पनि नियमअनुसार, मापदण्ड, समयसीमाभित्र काम गर्दैन भने कारबाही गरेर अगाडि बढ्ने हिसाबले प्रशासन तयार हुनुपर्छ ।’

सांसद तामाङका अनुसार झोरदेखि गुर्जेभञ्जाङसम्मको सडकलाई २०७४ सालमै टेण्डर स्वीकृत भएको थियो । त्यसको अनुमानित लागत २३ करोड ७० लाख थियो । त्यसमा घटीघटाउमा टेन्डर गर्दा १८ करोड ७५ लाखमा स्वीकृत भयो । त्यसअनुसार गत असार १७ गते नै निर्माण कार्य सम्पन्न गरेर राज्यलाई हस्तान्तरण गर्नुपर्ने अवधि थियो तर काम भएको छैन । काम नहुनुमा निर्माण व्यवसायी पक्ष स्थानीयले जग्गा दिएन भनी समस्या देखाएर पन्छिने गरेको छ ।

काठमाडौं तारकेश्वर नगरापालिकामा पर्ने जगातको कुनादेखि गुर्जेभञ्न्जयाङसम्म शिवपुरीको जंगल क्षेत्र पर्छ । वनले कागजपत्र तन्दुरुस्त बनाएर दिलाउन सरकार पक्ष लागिराखेको छैन । जसको कारण समस्या निम्तिएको हो । अहिलेसम्म २० प्रतिशत पनि काम भएको छैन । राज्यले बजेट छुट्याए पनि सम्बन्धित पक्षको हेल्चेक्र्याइँ भइरहेको स्थानीय बताउँछन् ।

नुवाकोट प्रवेश गर्ने गल्छी-त्रिशूली-स्याफ्रुबेंसी सडक निर्माण तुलनात्मक रुपमा राम्रै गरी अगाडि बढिरहेको छ । जिल्ला सदरमुकाममा प्रवेश गर्ने नाकाहरुमध्ये त्यसले भरथेग गर्ने काम भएको सांसद तामाङ बताउँछन् ।

बालाजु-रानीपौवा-त्रिशूली जाने सडकमा बजेट परेको छ । टेन्डर स्वीकृत भएको छ । निर्माण कार्य अलि-अलि अगाडि बढे पनि सोचेजस्तो छैन । त्यसले पनि जिल्लावासीले समस्या भोगिरहेका छन् ।

पत्रकार भरत लामासँगको भिडियो अन्तर्वार्ता

झमझम पानीमा सडकमा सांसद

बर्खा लाग्ने बेलामा झोर क्षेत्रमा पुगेर सम्बन्धित अधिकारीलाई झकझक्याएका सांसद हितबहादुर तामाङ नेतृत्वको टोली दसैं अगाडि पनि झोर-गुर्जे-छहरे सडकमा पुगेर स्थलगत अनुगमन गर्यो । असोज १५ र १६ गते हिलोमा लतरपतर हुँदै रोड मर्मत निर्देशनमा पुगेका थिए सांसदहरु तामाङ, प्रदेश ३ की उपसभामुख राधिका तामाङ, प्रदेश सांसद बद्री मैनाली र नेकपाका केही नेता कार्यकर्ताहरु ।

दसैंमा आवतजावत सहज बनाउने उद्देश्यले दिनैभरि जनप्रतिनिधि खटिएका थिए । त्यसअघि पनि जेठ अन्त्यमा सांसदहरु सडकको अवस्था बुझ्न पुगेका थिए । तर कार्यान्वयन भएन ।

कांग्रेस पनि सडकमा
आफ्नो सरकारको पालामा सडक नबनेपछि कांग्रेस नुवकोटका नेताहरु पनि दबाबमूलक कार्यक्रमका लागि नुवाकोट प्रवेश नाकामा केही दिन उभिन पुगे । उनीहरुले चक्का जाममात्रै गरेनन् । झोर–गुर्जे सडक खण्डमा केही टिपर रोडा बिछ्याउने काम गरे भने जनश्रमदानमा खटिए । नेताहरु हिलोमा बुटजुत्ता लगाएर एक, दुई दिन खटिए । तर सडक मर्मतको उल्लेख्य प्रगति नहुने देखेपछि ब्याक भए ।

दबाबमूलक कामका लागि सडक ओर्लिएका कांग्रेस नेताहरुलाई आफ्नो पालामा जनताको दुःख नदेख्ने, यतिबेला सडकमा तमासा देखाउन आएको, सत्तामा भएर खाना नपाएपछि छटपटिएको जस्ता आरोप सामाजिक सञ्जालमा पोखिए ।

कांग्रेस नेताहरुले झोर अलावा तीन पीप्लेमा पनि भदौ तेस्रो साता दबाबमूलक कार्यक्रम आयोजना गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!