काठमाडौं । नेपालकै पहिलो सुरुङमार्गको निर्माणकार्य थालनी भएको छ । सोमबार एक समारोहका बीच प्रधानमन्त्री केपी ओलीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास गरेका हुन्।

काठमाडौं छिर्ने मुख्य नाकालाई सहज र छिटो बनाउन महत्वपूर्ण योगदान दिने यो सुरुङमार्गको प्रधानमन्त्रीले चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरेका हुन् । सुरुङ्ग मार्ग निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण सहयोग (शुन्य दशमलव ०१ प्रतिशत ब्याजदर) मा निर्माण सुरु गरिएको यस आयोजना बनाउन २२ अर्ब रुपियाँ खर्च हुने बताईएको छ। त्यसका लागि जाइकाले १६ अर्ब सहयोग गर्ने र बाँकी छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्नेछ । प्रवेश मार्गसहित पाँच दशमलव ५६ किमि सुरुङमार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक श्याम खरेलले बताए । यसमा करीब साढे छ अर्ब स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ ।
सुरुङ्ग मार्गको बिषयमा भएको सम्झौता र योजना तर्जुमा बिषयमा नेकपा नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँगको एस्क्ल्युसिभ अन्तर्वार्ता हेर्नुहोस् ।






