ताप्लेजुङ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच कुनै असमझदारी नरहेको दाबी गरेका छन् । कार्यकर्ता प्रशिक्षणका लागि पाँचथर सदरमुकाम फिदिम आएका दाहालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मिडियामा आएजस्तो कुनै असमझदारी नरहेकाले त्यसको पछि नलाग्न पनि आग्रह गरे ।

उनले हिजो मात्रै प्रधानमन्त्री र आफूबीच दुई घण्टासम्म बसेर छलफल भएको पनि प्रष्ट्याए । पार्टी एकताका बेला भएको समझदारी अनुसार नै पार्टी अघि बढिरहेको बताउँदै दाहालले भने, ‘पार्टी एकताका बेला भएको सहमति कार्यान्वयन नभएको भए पार्टी यो अवस्थामा आउनै सक्दैन थियो ।’
मन्त्रीमण्डल प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएकाले उनले चाहेको बेला परिवर्तन हुने दाहालले प्रष्ट पारे । ‘यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो, उहाँले जतिबेला चाहनुहुन्छ त्यतिबेला परिवर्तन हुन्छ,’ दाहालले भने । वर्तमान सरकारले छिमेक देशहरुसँगको सम्बन्ध मजबुत बनाउँदै लगेको दाबी गर्दै दाहालले यसको उदाहरण चिनका राष्ट्रपतिको भ्रमण र भारतको अमलेखगञ्ज पेट्रोललाइन विस्तार भएको दाबी गरे ।
२५ वर्षपछि चीनका राष्ट्रपति सि चिनफिङको सफल भ्रमण हुनु र भारतबाट नेपालमा सिधै पेट्रोललाइन विस्तार हुनुले दुई देशको सम्बन्धलाइ थप राम्रो बनाएको दाहालको दाबी छ ।






