नुवाकोट । राष्ट्रिय जागरण अभियानअन्तर्गत पञ्चकन्या गाउँपालिका–३ कार्किगाउँमा नेपाली कम्युनिस्ट पार्टीको वडा समितिको कार्यालय उद्घाटन तथा जागरण अभियान सम्पन्न भएको छ ।
शनिबार आयोजित कार्यक्रमको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज एवं पूर्वमन्त्री हितबहादुर तामाङले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता बागमती प्रदेश समिति सदस्य सुरेन्द्रबहादुर तामाङले गरेका थिए भने सञ्चालन प्रदेश सदस्य तथा वडा नं. ३ का अभियान संयोजक रामबाबु पराजुलीले गरेका थिए ।
कार्यक्रममा वक्ताहरूले पार्टी संगठनलाई जनश्रमदानमा जोडिन र जनतासँग निरन्तर संवादमा रहन र पार्टीले गरेका राम्रा कामलाई जनतामाझ पुर्याउने सवाललाई प्राथमिकता दिनु पर्नेमा जोड दिएका थिए । दुई महिने जागरण अभियानले पार्टी संगठनलाई थप गतिशील बनाउँदै जनताका समस्या, आवश्यकता र अपेक्षासँग प्रत्यक्ष जोडिने विश्वास व्यक्त गरिएको थियो।








