काठमाडौं । सडक, कृषि र शिक्षाको पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै नुवाकोट १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् हितबहादुर तामाङले बजेट बाँडफाट गरेका छन् ।
‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तरगत प्राप्त ६ करोड रुपैयाँ आइतबार विदुरमा बसेको निर्देशक समिति बैठकले नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का सात गाउँपालिकाहरुमा स्थानीय माग र आवश्यकताअनुसार बजेट वितरण गर्ने निर्णय गरेको हो । सांसद तामाङले विभिन्न गाउँपालिकाबाट माग भएर आएका तथा आवश्यकताको आधारमा २८ योजनामा बजेट तर्जुमा गरिएको जानकारी दिए ।

सांसद तामाङले विभिन्न सडक स्तरोन्नति, कृषिउपज संकलन केन्द्र भवन निर्माण, विद्यालयको पूर्वाधार निर्माण, पहिरो रोकथाम र संस्कृति, पर्यटनका निम्ति बजेट छुट्याइएको जानकारी दिए ।
नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेञ्ज्याङ्गमा जन्मिएका सांसद तामाङले आफ्नो वडामा बजेट नहाली अन्यत्रलाई प्राथमिकता दिएका छन् । सांसद तामाङले आफ्नो क्षेत्र मात्र नभई निर्वाचन र जिल्लाको समग्र बिकासमा जोड दिएको भन्दै स्थानीयले तारिफ गर्न थालेका छन् ।
सत्तारुढ नेकपाका प्रदेश नम्बर ३ का सहइञ्चार्जसमेत रहेका पूर्वमन्त्री तामाङका अनुसार ककनी गाउँपालिकामा ५ योजना, शिवपुरी गाउँपालिकामा ४, पञ्चकन्या गाउँपालिकामा ३, दुप्चेश्वर गाउँपालिका ४, तादी गाउँपालिका ४, लिखु गाउँपालिका ४ र सूर्यगढी गाउँपालिकामा पनि ४ योजनामा बजेट बाँडिएको छ । उनले प्रशासनिक खर्चबापत ५ लाख ४० हजार रुपैयाँ छुट्याएका छन् ।
कुल २८ वटा सार्वजनिक गरिएकोका कार्यक्रमहरु ५० लाखसम्म टेण्डर प्रक्रियाबाट र ५० लाखभन्दा कमका कार्यक्रमहरु उपभोक्ता समितिमार्फत कार्यान्वयन गराउनुपर्ने व्यवस्था छ । सांसद तामाङका अनुसार कार्यक्रम सम्बन्धित गाउँपालिकामार्फत कार्यान्वयन हुने छ ।
हेर्नुहोस्, कहाँ कहा परे बजेट








