पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तै बनाउन लागेको आरोप लगाएका छन् ।

शुक्रबार पोखरामा आयोजित कार्यक्रममा सभापति देउवाले सरकार अख्तियारलाई शाही आयोग बनाउन उद्दत रहेको भन्दै चर्को आलोचना गरेका हुन् ।
संवैधानिक परिषदलाई कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको भन्दै देउवाले भने, ‘अख्तियारलाई शाही आयोग बनाउँदैछ ।’
सरकारका गलतका कामविरुद्ध सडक र सदनमा लड्ने पनि देउवाले बताए ।
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवादमा परिणत भएको आरोप लगाए । चुनावका बेला प्रधानमन्त्रीले देखाएको राष्ट्रवादी चरित्र नेपाली जनताले अहिले आएर बल्ल बुझेको पनि उनले बताए ।
नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको ३० औं साधारणसभामा देउवाले अदालतलाई स्वतन्त्र राखिनुपर्ने भन्दै यो निष्पक्ष रह्यो भने सरकारले गलत गरेपनि सच्याउन सकिने बताए ।






