
काठमाडौँ । नेपाल र भारतबीच दशगजा क्षेत्रमा नियमित गस्ती र एक वर्षभित्रै संयुक्त सुरक्षा अभ्यास गर्ने सहमति भएको छ । नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच शुक्रबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रबीच भएको सहमतिमा दशगजामा नियमित संयुक्त गस्ती, संयुक्त सुरक्षा अभ्यास, आतंकवाद र सीमा अपराध नियन्त्रण, सूचना आदानप्रदानलगायत विषय छन्। यसअघि दुई सशस्त्र बलबीच नियमित रूपमा सुरक्षा अभ्यास भएको छैन। गत वर्ष पहिलोपटक भारतले अभ्यास गरे पनि त्यसले निरन्तरता पाउने/नपाउने अन्योल थियो।
पोखरामा बुधबार र बिहीबार भएको ‘नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक’ को छलफलका आधारमा सहमतिपत्रमा हस्ताक्षर भएको सशस्त्र प्रहरी प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिए। नेपाल र भारतीय सीमा नाकामा तेस्रो देशबाट हुनसक्ने घुसपैठ तथा अनधिकृत आवतजावत नियन्त्रण गर्ने सहमतिसमेत भएको उनले बताए। प्रवक्ता श्रेष्ठका अनुसार सीमा क्षेत्रमा नेपाली नागरिकमाथि एसएसबीबाट हुने गरेका दुर्व्यवहारबारे पनि बैठकमा कुरा उठेको थियो। एसएसबीका अधिकारीले नेपालीमाथि दुर्व्यवहार गर्ने कुनै नीति नभएको र जान–अन्जानमा त्यस्ता घटना भए तत्काल दुवै पक्ष बसेर समाधान खोजिँदै आएको बताएका थिए।
सशस्त्र प्रहरीका अनुसार अन्तर्देशीय अपराध नियन्त्रणमा आपसी सहायता आदानप्रदान, विभिन्न तहमा दुवै देशका सुरक्षा अधिकारी सम्मिलित बैठक आयोजना, चाडपर्वका बेला सीमा क्षेत्रमा संयुक्त नागरिक सहायता कक्ष, नियमित गुडविल भिजिट (सद्भावना भ्रमण), अन्तर्देशीय व्यावसायिक तालिममा दुवै देशका अधिकारी सहभागी हुनेलगायत विषयमा सहमति भएको छ। पाँचौं समन्वय बैठक भारतमा गर्ने सहमतिसमेत भएको छ।
०७३ साउन २३ र २४ गते भारतको राजधानी नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो। त्यसअघि ०६९ र ०७२ मा भारत र नेपालले क्रमशः पहिलो र दोस्रो बैठक आयोजना गरेका थिए।
दुवै देशसँग संयुक्त अभ्यास
सशस्त्र प्रहरी बल (एपीएफ) ले दुवै छिमेकी मुलुकसँग सीमा सुरक्षा र अन्तर्देशीय अपराध नियन्त्रणमा ‘संयुक्त सुरक्षा अभ्यास’ को रणनीति अघि सारेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको हालै भएको भ्रमणका क्रममा नेपाल र चीनका सीमा सुरक्षा अधिकारीबीच संयुक्त सुरक्षा अभ्यास गर्ने सहमति भएको थियो। सहमतिअनुसार सशस्त्र प्रहरी मुख्यालय संयुक्त अभ्यासको मोडालिटी निर्माणमा जुटेको छ। चीन र नेपालबीच संयुक्त अभ्यास गर्ने सहमति भएको महिना दिन नबित्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँग अभ्यास गर्ने सहमति सशस्त्रले गरेको हो। भारतसँग नेपालका २३ जिल्लाको सिमाना जोडिएको छ। करिब १ हजार ८ सय ८० किमि लम्बाइ रहेकामा थुप्रै ठाउँमा सीमा विवाद छ। चीनसँग १ हजार ४ सय १४ किमि लम्बाइमा १५ जिल्लाको सीमा जोडिएको छ।
गृह मन्त्रालयले भारततर्फ ५९ र चीनतर्फ ४ स्थानमा सीमा सुरक्षार्थ सशस्त्र प्रहरीको बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने गरी प्रस्तावलाई अन्तिम रूप दिएको छ। हाल भारततर्फ १ सय ७ स्थानमा बीओपी तैनाथ छन्। उत्तरतर्फका १५ जिल्लाका नाकामा बीओपी तैनाथ गरिएको छैन। खासगरी नेपाल–भारत र नेपाल–चीनबीच सीमा अपराध, आतंकवाद, सुन तथा डलर तस्करी, जडीबुटी तथा वन्यजन्तुको अवैध ओसारपसार, भन्सार छलीलगायत अपराध हुने गरेका छन्।






