समाजवादी र राष्ट्रिय जनता पार्टी एकीकरणको अन्तिम तयारीमा

SHARE:

काठमाडौं । सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसको विकल्प बन्ने उद्घोषका साथ मधेश केन्द्रीत राजनीतिक पृष्ठभूमिका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरणको अन्तिम तयारीमा छन् ।

पदीय जिम्मेवारी बाहेकका अन्य विषयमा लगभग कुरा मिलिसकेको नेताहरुको भनाई छ ।

प्रदेश–२ मा गत निर्वाचनमा मोर्चा बनाएर लडेका राजपा र समाजवादी पार्टीले एकताका लागि कार्यदल नै बनाएर काम गरिरहेका छन् ।

तत्कालीन संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच एकीकरण भएपछि दुई दलबीचको एकताको विषयले थप महत्व पाएको छ ।

पार्टीको वैचारिक दृष्टिकोणमा खासै फरक मत नभएका यी दुई दलले भित्र–भित्रै धेरै विषय टुंग्याइसकेको नेताहरुको दावी छ ।

लोकतान्त्रिक समाजवादलाई मुख्य राजनीतिक दर्शन बनाएर अन्य शक्तिहरुलाई समेत एकतावद्ध बनाएर लाने लक्ष्यका साथ एकीकरणको विषयहरु अघि बढाइएको छ ।

राजपा संसदीय प्रणालीको पक्षमा छ भने समाजवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा छ । अन्य राजनीतिक मुद्धामा भने दुवै दल एक ठाउँमा उभिएका छन् ।

अनौपचारिक रुपमा नै करीब एक दर्जन नेताको पदीय व्यवस्थापनको जिम्मेवारी टुंगिने बित्तिकै औपचारिक रुपमा एकीकरणको घोषणा हुने तयारी गरिएको नेताहरुको दाबी छ ।

समाजवादी पार्टीका सहध्यक्ष राजेन्द्र श्रेष्ठ राजपासँग एकताको मुलभुत विषय अनौपचारिक ढंगबाट टुंगिन लागेको भन्दै छिट्टै औपचारिक वार्तामार्फत एकताको टुंगो लाग्ने बताउँछन् ।

राजपा संयोजक राजेन्द्र महतोले पनि शुक्रबार जनकपुरमा समाजवादी पार्टीसँगको एकता प्रक्रिया निकै अघि बढेको भन्दै अब वैकल्पिक शक्ति निमार्णको अभियान चलेको दाबी गरेका छन् ।

प्रतिनिधिसभा समाजवादी र राजपा अहिलेका तेस्रो र चौथौ शक्ति हुन् । प्रदेश–२ मा यी दुई दलको सरकार छ ।

अहिलेको एकता प्रयास ठूला दलहरुलाई चुनौती दिँदै वैकल्पिक शक्तिको रुपमा उदाउने ढंगको छ ।

मधेश केन्द्रीत दलको रुपमा परिचय बनाएका यी दुई पार्टी एकतामार्फत हिमाल र पहाडमा पनि पार्टी विस्तार गरी मुलुकको वैकल्पिक शक्तिको रुपमा उदाउने प्रयत्नमा रहेको दावी गर्छन् ।

सत्ता राजनीतिलाई मात्र केन्द्रमा राख्ने परिचय बनाएका यी दुई दलप्रति आम मानिसहरुको धारणा त्यति सकारात्मक छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!