नुवाकोट । नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद हितबहादुर तामाङ सहितको टोलीले बञ्चरेडाँडा ल्याण्डफिल साईडको अनुगमन गरेको छ ।

काठमाडौ उपत्यकाको फोहोर बिसर्जन गर्दै आएको सिसडोल ल्याण्डफिल साईडको विकल्पमा निर्माण भइरहेको बञ्चरेडाँडा ल्याण्डफिल साईडको अनुगमन गरी सांसद तामाङले यसको अवस्थाबारे जानकारी लिएका हुन् । केही दिनअघि नुवाकोटको सिसडोल पुगेका सांसद तामाङले साईट इञ्जिनियरहरुसँग बञ्चरेडाँडा ल्याण्डफिल साईडको निर्माणको अवस्थाबारे जानकारी लिएका थिए । ‘हामीले सिसडोलको अवस्था पनि बुझ्यौं, तोकिएको समयभित्रै बञ्चरेडाँडा निर्माण सम्पन्न भएन भने भयावह अवस्था आउन सक्छ, त्यसैले जनशक्ति थप गरेर भए पनि यसलाई समयमै सम्पन्न हुने अवस्थामा पुर्याउनुहोस्’ उनले साईट इञ्जिनियरलाई निर्देशन दिए ।
सहरी तथा भवन निर्माण विभागले बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईड निर्माणको काम लुम्बिनी – कोशी एण्ड न्यौपाने जेभीलाई ठेक्का दिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का पाएको कम्पनीले ८ महिना गुजारिसकेको छ । २०७६ बैशाख २२ मा भएको ठेक्का सम्झौता सकिन अब ४ महिना मात्र बाँकी छ ।
अनुगमन टोलीमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल, ककनी गाउँपालिका वडा ३ का अध्यक्ष घननाथ बजगाई लगायत थिए । काठमाडौ उपत्यकाको १८ वटा नगरपालिकाबाट उत्पादन भईरहेको फोहोर नुवाकोटको ककनी गाउँपालिका १ को सिसडोल ल्याण्डफिल साईटमा व्यवस्थापन गर्दै आएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साईट निर्माण सम्पन्न भएपछि काठमाडौको फोहोर बञ्चरेडाँडामा विसर्जन गरिनेछ । तर बन्चरेडाँडा ल्याण्डफिल साईड निर्माण सम्पन्न गर्न अझै समय लाग्ने भएकाले फोहोरका कारण सिसडोलका बासिन्दाले व्यहोर्दै आएको समस्याबाट मुक्ति पाउन केही समय लाग्ने देखिन्छ ।
सांसद तामाङकै पहलमा करिब तीन महिनाअघि संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रविधि समितिले नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइट स्थगलगत अनुगमन गरेको थियो ।






