काठमाडौँ । राष्ट्रिय जनता पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । राजपाले प्रदेश २ बाट राष्ट्रियसभामा मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।
शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले वरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिंह यादवलाई राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको हो । उनलाई अन्य समूहबाट उम्मेदवार बनाइएको हो।
त्यस्तै, शेखरकुमारलाई भने अल्पसंख्यकको समूहबाट उम्मेदवार बनाउन लागिएको यादवले जानकारी दिए । राजपाले प्रदेश २ बाट मात्रै राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको पनि उनले जानकारी दिए ।
प्रदेश २ मा खाली हुन लागेका राष्ट्रियसभाका ४ सिटका लागि राजपा र नेकपाले गठबन्धन गरेका छन्। दुवै पार्टीले २-२ सिट बाँडेका हुन्। यो प्रदेशमा प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीले पनि चुनावी गठबन्धन घोषणा गरेका छन्।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ बाट नेकपा-राजपा गठबन्धन निर्वाचित हुने सम्भावना बलियो। यो प्रदेशमा यी दुई पार्टी मिल्दा स्वतः बहुमत पुग्छ।
समाजवादीबाट राष्ट्रियसभामा पासवानलाई निरन्तरता
समाजवादी पार्टीले राष्ट्रियसभामा प्रदेश–२ बाट रामप्रित पासवानलाई नै उम्मेद्वार बनाउने भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोटगर्न शनिबार बसेको समाजवादी पार्टीको बैठकले दुई वर्षे कार्यकाल सकिन लागेकाराष्ट्रियसभा सदस्य रामप्रित पासवानलाई नै उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महामन्त्री रामसहायप्रसाद यादवले जानकारी दिए । उनलाई दलित समूहबाट उम्मेदवार बनाउन लागिएको हो ।
राष्ट्रियसभाका लागि कांग्रेससँग गठबन्धन गरेको राजपाले प्रदेश–२ मा २ सिटमा उम्मेदवारी दिने भएको हो । दोस्रो उम्मेद्वार छनोटगर्ने जिम्मा भने अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । प्रदेश–२ मा नेकपा र राजपाले पनि गठबन्धन गरेका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि माघ ९ गते मतदान हुने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । जसका लागि आइतबार उम्मेद्वारको मनोनयन दर्ता गर्ने मिति तय गरिएको छ ।






