अग्‍नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

SHARE:

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागी राजीनामा दिएपछि विगत चार महिनादेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ । सभामुख नहुँदा प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ ।

नेकपाको आइतबारको निर्णयसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने भएको छ । आइतबार बिहान पार्टी अध्यक्षयद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिका आधारमा सचिवालय बैठकले सापकोटालाई सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

तत्कालीन सभामुख महराले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीभित्र लामो छलफल भएको थियो । यही पुस ४ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भइरहेको थियो ।

महासचिव पौडेलले बैठकपछि सचिवालयले एक मतका साथ सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । उनले भने, “उपसभामुखका सन्दर्भमा यसभन्दा अगाडिको बैठकले निर्णय गरिसकेको छ, उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएर सहयोग गर्नुहुने हाम्रो अपेक्षा छ ।”

विसं २०१५ फागुन १४ गते सिन्धुपाल्चोकको कुभिण्डेमा जन्मिएका सापकोटाले १५ वर्ष अध्यापन गरेका थिए । नेता सापकोटा विसं २०३५ मा नेकपा (चौथो महाधिवेशन) बाट पार्टी राजनीतिमा लागेका हुन् । हाल नेकपा स्थायी कमिटी सदस्य रहेका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

विसं २०६८ मा सूचना तथा सञ्चारमन्त्री भएका सापकोटा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।
विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा २०४८ सालदेखि सक्रियरूपमा राजनीतिमा क्रियाशील छन् । विसं २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनले विसं २०५२ माघदेखि भूमिगत राजनीतिसमेत गरेका थिए ।

उनले विसं २०५८ मा तत्कालीन नेकपा(मोआवादी)को तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेका थिए । तत्कालीन एकीकृत नेकपा (माओवादी) को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बनेका उनले २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!