साउनामा ज्यान गुमाएका हस्त र नेत्रको आफन्तले दिए सञ्‍चालक बस्‍नेतविरुद्ध जाहेरी

SHARE:

ललितपुर । साउना सञ्‍चालकको लापरबाहीका कारण दम्पतीको निधन भएको भन्दै कारबाहीको माग गरेर महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा पुरक जाहेरी परेको छ। मृतक हस्तकुमार थापा मगरकी दिदी पौकाकरी पुनले फिट एण्ड फाईन हेल्थ क्लबका सञ्चालकविरुद्ध आइतबार पुरक जाहेरी दिएकी हुन् ।

यसअघि घटना छानबिनको माग गर्दै योगिता पुनको तर्फबाट जाहेरी दरखास्त दर्ता भएको थियो।गत बुधबार सातदोबाटोको विशालचोकमा रहेको एरोबिक फिटनेस जिम सेन्टरमा थापार उनकी श्रीमती नेत्र पुनको निसासिएर मृत्यु भएको थियो।

दिदी पौकाकरीले जाहेरीमा भनेकी छिन्, ‘सञ्‍चालकको लापरबाहीको कारण निसासिएर नै उक्त घटना घटेको, यसअघि पनि अन्य व्यक्तिहरु उक्त साउना, बाथमा निसासिएका घटनासमेत जानकारी पाएकोले स्वास्थ्य लाभ गर्ने उद्देश्यले सञ्‍चालित उक्त हेल्थ क्लबका सञ्‍चालकहरुको चरम लापरबाहीको कारण उक्त घटना भएकोले सो क्लबका स‍‍ञ्‍चालकहरुलाई कानुनबमोजिम हदै सम्मको सजाय गरी पाउनको लागि यो पुरक जाहेरी दिएकी छु।’

पुनले सेन्टरका सञ्‍चालक जुना बस्‍नेतलाई कारबाहीको माग जाहेरीमा गरेकी छन्।व्यक्तिको ज्यूज्यान जाने गरी गम्भीर लापरबाही कसुर गरेको भन्दै सञ्‍चालक बस्‍नेतलाई तत्काल पक्राउ गरी हदै सम्मको सजाय गर्न। मानवीय क्षति र आश्रित बालबालिकाको भविष्य समेतलाई ध्यानमा राखि क्षतिपूर्तिसमेत दिलाउन माग गरिएको छ।मृतक दम्पतीका ११ वर्षीय छोरा र १३ वर्षीया छोरी छन्।

साउना सञ्‍चालकले स्टीम वाथ व्यवसायको रुपमा सञ्चालन गरे पनि न्यूनतम पूर्वाधार नभएको, तालिम प्राप्त कर्मचारी नराखिएको, एउटै कर्मचारीलाई धेरै थरी काम जिम्मा लगाएको आरोप पुरक जाहेरीमा लगाइएको छ। साउना वाथमा पालना गर्नुपर्ने नियमको सूचना नराखिएको, कोठाभित्र ईमर्जेन्सी घन्टी नराखिएको, बाहिरपट्टी सम्पर्क व्यक्ति नराखिएको आरोप पुनले जाहेरीमा लगाएकी छन्।

घटना भएपछि पनि साउना सञ्‍चालकले तत्काल उद्दारको कुनै उपाय नखोजेको, साउनाको कोठाभित्र कति समय बस्‍ने हो भन्‍ने जानकारी पनि ग्राहकलाई जानकारी नगराएको जाहेरीमा उल्लेख छ।

साउनासँगै जोडिएको बाथरुममा कार्बन मोनोक्साईड उत्पादन गर्ने ग्यास गिजर राखिएको आरोप पनि जाहेरीमा छ।
मुलुकी फौजदारी संहिता २०७४ को दफा ३० ले संगठित संस्थाबाट भएको कसुरअनुरुप क्षतिपूर्तिको माग गरिएको छ।

 

 

 

जाहेरीको पूर्णपाठसहित

श्री महानगरिय प्रहरी बृत्त, सातदोबाटो, ललितपुरमा पेश गरेको
पुरक जाहेरी दरखास्त

१. जाहेरी दरखास्त वा सुचना दिने व्यक्तिको नाम, थर र ठेगाना (टोल सहित) फोन नंंः–
म्याग्दी जिल्ला साविक चिमखोला गा.वि.स वडा नंं ९ हाल रघुगंगा गा.पा. वडा नंं ७ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नंं १९ बस्ने वर्ष ६७ कि पौकाकरी पुन (९८६२३९३५८८÷९८५१२२८७१४)…..१
२. कुन कानुन वा मुद्दा बारे दरखास्त वा सुचना गरेको हो ः – ज्यान सम्बन्धि ।
३. कसुर गर्ने व्यक्तिको नाम, थर, वतन (टोल समेत) ः– उदयपुर जिल्ला चौडण्डीगढी न.पा. वडा नंं ६ चारघरे घर भई हाल ललितपुर जिल्ला ल.पु.म.न.पा वडा नं. १४ नखिपोट, विशालचोक बस्ने तथा सोही स्थानमा संचालित फिट एण्ड फाईन हेल्थ क्लबका संचालक जुना बस्नेत….१
४. कसुर गर्ने व्यक्तिको बुबा आमाको नाम ः
५. कसुर गर्ने व्यक्तिको हुलिया, परिचय खुल्ने अन्य विवरण ः
६. कसुरसंग सम्बन्धित विवरण ः–
क) कसुर भएको वा भईरहेको वा हुन लागेको स्थान , ठाउँ, मिती र समय ः ललितपुर जिल्ला ल.पु.म.न.पा वडा नं. १४ विशालचोक नखिपोट बस्ने वर्ष ४२ को हस्तकुमार थापा र निजकी श्रीमती वर्ष ३७ कि नेत्र पुनको मिती २०७६।१०।१५ गते राती अं. २१ः१८ बजेको समयमा ललितपुर जिल्ला ल.पु.म.न.पा वडा नं. १४ विशालचोक नखिपोट स्थित फिट एण्ड फाईन हेल्थ क्लबको साउना नुहाउने स्थानमा घटना भई अस्पताल पुर्याउँदा मृत घोषित भएको ।

ख) कसुरसंग सम्बन्धित घटनाको विवरण ः घटनाको छानविन गर्नको लागि घटना घटेको तत्काल प्राप्त सुचनाको आधारमा यस अघि मिती २०७६।१०।१६ गते योगिता पुनको तर्फबाट जाहेरी दरखास्त दर्ता गरिएको थियो । हाल बुझ्दै जाँदा उक्त क्लबका संचालकहरुको चरम लापर्वाहीको कारण उक्त घटना घटेकोले यो पुरक जाहेरी लिई उपस्थित भएको छु । उक्त घटनामा घटनास्थलमा रहेका दुवै जना हस्तकुमार थापा र निजकी श्रीमती नेत्र पुनको मृत्यु भएको मा मुत्यु हुने मेरो सहोदर भाई र बुहारी नाताका व्यक्तिहरु हुन् । निज मृतकहरुको नाबालक १ छोरा वर्ष ११ को र १ छोरी वर्ष १३ को छन् । हामी दाजुभाई दिदीबहिनी मध्ये म जाहेरवाला मृतक हस्त कुमार थापाको जेठी दिदि हुँ । अन्य दाजुभाईहरु सबैजना बिदेशमा बस्ने र म बिबाह भई कास्की जिल्लाको पोखरामा बस्दै आएकी छु । आमा बुबा परलोक भैससक्नु भएको छ । उक्त घटनाको सम्बन्धमा मिती २०७६।१०।१५ गते मेरो कान्छो भाई र निजको पत्नी कान्छी बुहारी साउना, स्टिम वाथ लिनको लागि ललितपुर जिल्ला ल.पु.म.न.पा वडा नं. १४ विशालचोक नखिपोट स्थित फिट एण्ड फाईन हेल्थ क्लबमा गएका रहेछन् । म पोखरा स्थित घरमा थिएँ, सोही राती अंं ११ बजेको समयमा मलाई आफन्तले फोन गरि ललितपुरमा भाई बस्ने घर नजिकै रहेको फिट एण्ड फाईन हेल्थ क्लबमा सोही साँझ साउना वाथ मा स्वास्थ्य लाभ लिनको लागि गएकोमा कोठा भित्र निसास्सिएर भाईबुहारी दुवै जनाको मृत्यु भएको भनि उक्त घटना घटेको थाहा पाई म त्यसको लगत्तै मिती २०७६।१०।१६ गते काठमाण्डौं आईपुगें । म समेत अन्य दाजुभाई, भाउजु बुहारीहरु समेत विभिन्न ठाउँबाट जम्मा भेला भई घटनास्थल लगायतको सबै यथार्थ बुझ्दा मेरो भाईबुहारी उक्त स्थानमा संचालकको लापर्वाहीको कारण निसास्सिएर नै उक्त घटना घटेको, यस अघि पनि अन्य व्यक्तिहरु उक्त साउना, बाथमा निसासिएका घटना समेत जानकारी पाएकोले स्वास्थ्य लाभ गर्ने उद्देश्यले संचालित उक्त हेल्थ क्लबका संचालकहरुको चरम लापर्वाहीको कारण उक्त घटना भएकोले सो क्लबका संचालकहरुलाई कानुन बमोजिम हदै सम्मको सजाय गरि पाउनको लागि यो पुरक जाहेरी दिएकी छु । स्वास्थ्य लाभको लागि उक्त साउना, स्टीम वाथ व्यवसायको रुपमा संचालन गरेको क्लबमा साउना वाथको लागि न्यूनतम पुर्वाधार बिना नै संचालन गरिएको रहेछ । तालिम प्राप्त कर्मचारी राखिएको छैन । एउटै कर्मचारीलाई धेरै थरि काम जिम्मा लगाएको छ । उक्त घटनास्थल सामान्य आँखाले हेर्दा पनि निसास्सिन, भेण्टीलेशन बिनाका संयुक्त जोडिएको सुरुङ्ग जस्तो कोठाहरु साउना र बाथरुमको संरचना भएकोले धेरै जोखिमयुक्त छ , संचालकले व्यक्तिको ज्यूज्यान माथी खेलबाड गरि केबल नाफाको लागि मात्र संचालन गरेको देखिन्छ । साउना वाथमा पालना गर्नुपर्ने नियमको कुनै सुचना जानकारी टाँसीएको छैन । साउना वाथको कोठाभित्र ईमेर्जेन्सी घण्टी राख्नुपर्नेमा राखिएको पनि छैन । साउना कोठाको बाहिरपट्टी Attendee हरु कोही राखिएका छैनन् । ग्राहकको रेखदेख गर्नु गराउनुपर्ने जिम्मेवारी निज संचालक कै भएकोमा तथा घटना निजकै क्लबमा घटेकोमा कुनै द्धिविधा छैन । ग्राहक साउनामा प्रवेश गरेको साढे दुई घण्टा सम्म पनि केहि वास्ता नगरि बसेको देखिन्छ भने संचालकले तत्काल उद्दारको लागि कुनै उपाय खोज्न तत्परता देखाएको पनि छैन । कति समय कोठाभित्र बस्ने, नबस्ने जानकारी सुचना गरेको पनि छैन, महिला पुरुषलाई एकै ठाउँमा जान दिएको छ, सावर र साउना सुरुङ्ग जसरी एकै ठाउँमा राखिएको छ जहा प्रयाप्त मात्रामा अक्सिजन नपाई कोठामा निस्सासिन सक्छ भन्ने हेक्का राखि संरचना निर्माण गर्नुपर्नेमा सो गरेको देखिदैन । साउना संगै जोडिएको उक्त बाथरुममा ग्यास गिजर राखिएको छ, जसले कार्वन मोनोक्साईड उत्पादन गर्दछ । उक्त बाथरुममा २ वटा ग्यास गिजर भएको, गिजर भएको ठाउँमा ग्यासको कालो धुँवाको पुरानो दाग भित्ता सिलिङ्गमा समेत देखिएको अवस्था छ । यो घटना भन्दा अघिदेखि नै उक्त ग्याँस गिजर, साउना बाथकोठा, ढोकाको अवस्था ठिक नभएको बारेमा संचालकलाई पूर्ण ज्ञान भएको अवस्था छ । वास्तवमा ऋइ एयष्कयलष्लन हुने वातावरण त्यहाँ जडित सामाग्रीको कारणले भएको कुरामा संचालक नै जिम्मेवार हुनुपर्दछ, यस्तो जोखिम संचालकलाई थाहा जानकारी हुदाहुदै पनि त्यसलाई नसुधारि केबल आर्थिक लाभको लागि व्यवसाय संचालन गर्नु गम्भीर लापरवाही हो । आफुले संचालन गरेको क्लबमा सुरक्षाको ग्यारेण्टी गर्नु संचालकहरुको दायित्व हो, आफ्नो दायित्व पुरा नगरि संचालन गर्नु अत्यन्त गैहजिम्मेवारी तथा लापर्वाही हो । उक्त क्लब संचालकको लापर्वाहीको कारण मेरो भाई बुहारीले युवा अवस्थामै अनाहकमा ज्यान गुमाउनु परेको छ साथै सानासाना नाबालबालिकाहरु टुहुरा बनेका छन् । यस सम्बन्धमा मुलुकी फौजदारी संहिता २०७४ को दफा ३० ले संगठित संस्थाबाट भएको कसुरमा काम गर्ने गराउनेको आपराधिक दायित्व हुने व्यवस्था गरेको छ, ऐ परिच्छेद १२ ज्यान सम्बन्धि कसुरको दफा १८१ (१) मा कसैले लापर्वाही पूर्ण काम गर्न नहुने, गरि कसैको ज्यान गएमा ऐ ऐ (२) बमोजिम कैद सजाय तथा जरिवानाको व्यवस्था गरिएको छ भने ऐ दफा १८६ मा ज्यान वा सम्पत्तीमा हानी नोक्सानी भएमा कसुरदारबाट पिडितलाई वा पिडित नभए निजको हकवालालाई मनासिव क्षतिपुर्ति भराईदिनुपर्नेछ भन्ने समेतको व्यवस्था गरिएको छ । उक्त क्लबका संचालकको गंभिर लापर्वाहीको कारण मेरा भाई बुहारीको अनाहकमा, अकालमा ज्यान गएको छ । मेरा भाई हाल ४२ वर्षको र बुहारी हाल ३७ वर्षकी युवा अवस्थाको काम गर्न तथा आयआर्जन गरि कमाउन सक्ने उमेरका थिए । उनीहरुका आश्रित वर्ष ११ र १३ का नाबालक छोरा छोरीहरु छन् । घरव्यवहार सबै लथालिंग भएको छ । बालबालिकाको लालनपालन हेरचाह गर्ने कोही छैन । अतः यस घटनामा उक्त क्लबका संचालकले क्षति हुन सक्ने कुराको विद्यमानता तथा जोखिमको थाहा जानकारी हुदाहुदै पनि केहि वास्ता नगरि घण्टौं समय सम्म साउनाबाथ को कोठाबाट बाहिर ननिस्केको अवस्थामा कुनै वास्ता नगरि लापर्वाही गरेको कारण मेरो भाईबुहारी दुवै जनाको ज्यान गएको छ, जुन क्षतिको पुर्ति अपुरणीय छ यद्यपी मुलुकी फौजदारी संहिता २०७४ को माथी उल्लेखित कानुनी व्यवस्था बमोजिम निज संचालकले व्यक्तिको ज्यूज्यान जाने गरि गम्भिर लापर्वाही पुर्ण कसुर गरेको हुँदा निजहरुलाई तत्काल पक्राउ गरि नियन्त्रणमा लिई हदै सम्मको सजाय गरि भएको मानविय क्षतिका साथै आश्रित बालबालिकाको भविष्य समेतलाई ध्यानमा राखि क्षतिपुर्ति समेत दिलाई भराई पाउँ ।

ग) कसुरको प्रकृति र अन्य विवरणहरु ः कसुरदारले गरेगराएको कामबाट एकै घटनामा दुई जनाको ज्यान जाने गरि चरम लापर्वाही गरेको ।
घ) कसुरसंग सम्बन्धित सवुत प्रमाणहरु ः
उक्त साउनाका स्थानिय ग्राहक ओमनारायण पुन (मोवाईल नंं ९८६०५३९६६४) समेतका स्थानिय जे जो बुझनुपर्छ बुझि पांउ । साथै कसुर संग सम्बन्धित कुनै सवुत प्रमाण भए सो कुरा अनुसन्धान गरि प्रमाणमा लगाई पाउँ ।

ङ) कसुरसंग सम्बन्धित अन्य विवरण ः उक्त घटना स्थलमा यस अघि पनि यस्तो प्रकारका घटना घटेको बुझिएकोले कम्तीमा १ वर्ष अवधीको सिसिटिभि फुटेजको अध्ययन गरि घटनास्थलको साउना वाथ रुमको चेकजाँच गर्ने, ग्यास गिजरको अवस्था तथा भित्ता तथा सिलिङ्गमा पुरानो धुँवा फैलिएको स्पष्ट देखिएकोले सो सम्बन्धीमा क्षुक्ष्मरुपमा अध्ययन गर्ने, उक्त घर संरचना झ्याल ढोका तथा साउना, वाथ, गिजर संचालन गर्न उपयुक्त भएको नभएको परिक्षण गराई बुझिपाउँ । यसका साथै उक्त संचालकहरुले सो क्लबको दर्ताको उद्देश्य बमोजिमको कार्य गर्न संचालन अनुमती लिएनलिएको तथा सिसिटिभी राख्दा जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिनुपर्नेमा लिए नलिएको लगायत कानुन बमोजिम संचालन भएनभएको विषयमा समेत बुझि प्रमाणमा लगाई पाउँ ।

७) यो जाहेरी दरखास्तको व्यहोरा ठिक साँचो छ , झुठा ठहरे काुनन बमोजिम सहुँला बुझाउँला । प्रहरीद्धारा केश तहकिकात हुँदा वा अदालतमा मुद्दा चल्दाका बखत उपस्थित हुनुपर्ने जनाउ पाए सो बमोजिम उपस्थित हुनेछु ।
जाहेरी दरखास्त दिने व्यक्ति ः
नामः पौकाकरी पुन
सहि ः
मिती ः २०७६।१०।१९

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!