एटा संवाददाता
अल्डरसट । नेपाली समुदाय बेलायतमा बहुप्रतिक्षित गोर्खा कप फुटबल प्रतियोगिताको आयोजक तमुधिं युकेका पदाधिकारीहरु खेलको तयारीमा जुटेका छन् । गत शनिबार १२ मे २०१८ का दिन अल्डरसटस्थित एम्पायरमा हलमा सम्पन्न तमुधिं युकेको बैठकमा खेलकुद सचिव क्या. पिताम्बर गुरुङले खेललाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी पुरा भएको जनाए ।

१६ औं गोर्खा कपको तयारीका बारे केन्द्रित बैठकमा अध्यक्ष ज्ञाम गुरुङले गुरुङहरुको ऐतिहासिक थलो क्होलासोंथरको ३ हप्ते भ्रमण बारे जानकारी दिएका थिए । उनले कार्यसमितिका साथीहरु, सल्लाहकार, आजीवन सदस्य, आमा समूह र युवाहरुलाई जानकारी गराउदै सो भ्रमणको बारेमा तयार पारिएको छोटो भिडियो समेत प्रर्दशन गरिएको थियो । त्यस्तै अध्यक्ष ज्ञाम गुरुङ र पूर्व अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले सिलान्यास गरेको धादिङ्गको खादिङ्गका निर्माणधीन अवस्थामा रहेको हिमालय सरस्वती प्राविको बारेमा पूर्व अध्यक्ष सुर्जे गुरुङ र सल्लाहकार जुमकाजी गुरुङले बोलेका थिए ।
बैठकमा भ्रमण दलका सदस्यहरुलाई तमुधिं युकेका आमा समूहले खादा लगाई स्वागत तथा सम्पन्न गरिएको थियो । भ्रमण दलका सदस्यहरुले भ्रमण ऐतिहासिक भएको जनाउदै अरुलाई पनि भ्रमण गर्न सुझाव दिए । त्यस्तै बैठकमा हालै काउन्सिलर पदमा निर्वाचित भएका काउन्सिलर लक्ष्य गुरुङ, बिष्णु गुरुङ, चित्र राना, घान्द्रुक समाज युकेका नवनिर्वाचित अध्यक्ष अर्जुन गुरुङ, सोंपाल समाज युकेका नवनिर्वाचित अध्यक्ष युक्त गुरुङ, बेक्स्ली नेप्लिज कम्युनिटीका अध्यक्ष बिजय गुरुङ, पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, भुक समाजका अध्यक्ष क्या तिर्थ गुरुङ, र गोर्खा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष फडकजीत गुरुङलाई बधाई ज्ञापनको प्रस्ताव पारित गरिएको थियो ।
आउँदो २७ मे २०१८ आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुन गइरहेको १६ औं गोर्खा कपको पुरस्कारको यसपटक पुरस्कारको राशी बढाइएको अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिएका छन् । उनका अनुसार नन् भेट्रानतर्फको बिजेतालाई २५०० पाउण्ड, उपबिजेताले १५०० पाउण्ड, भेट्रानतर्फ पहिलो विजेता टिमले १२०० पाउण्ड र दोस्रोले ८०० पाउण्ड पुरस्कारको राशी तोकिएको छ ।
गोर्खा कपलाई अझ व्यवस्थित र मार्यदित बनाउनका लागि सुरक्षा संयन्त्रलाई बलियो र हेल्थ एण्ड सेफ्टीलाई बिशेष ध्यान दिइएको मिडिया सेक्रेटरी रोहित गुरुङले जानकारी गराए । उनले गोखा को तयारी बारे विस्तृत जानकारी गराउनका लागि तमुधिं युकेले आउँदो २० मे आइतबारका दिन तमुधिं भवनमा पत्रकार सम्मेलनको आयोजना गर्ने बताए । पार्किङ्गलाई व्यवस्थित बनाउनका लागि तमुधिं हेम्पसायरका अध्यक्ष उत्तर बहादुर गुरुङको संयोजकत्वमा स्वंयसेवकहरु रहेको ट्राफिक व्यवस्थापन कमिटि गठन गरिएको मिडिया सेक्रेटरी गुरुङले जानकारी दिए ।
गोर्खा कपको थप आर्कषणका लागि ब्रिगेड व्याण्ड डिस्प्ले, प्यारासुट डिस्प्ले, पञ्चे बाजा, पाइपर, कल्चरल डान्स, खुकुरी डान्स, खानाका स्टल, हस्तकला सामाग्री, कमर्सियल र च्यारिटी स्टल आदि रहने छ । तमुधिं यूकेले अहिले टिम दर्ताका लागि आव्हान गरिएकोमा टिम समेत पुरा भैसकेको अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए । त्यस्तै, फुटबल पे्रमीहरुलाई बिशेष ध्यान दिइदै प्रिमियरसीप कप प्रर्दशन गरिने अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए । यस पटक हङ्गकङ्ग, होल्याण्ड र बेल्जियम र अमेरिकाबाट पनि खेलाडीहरु आउने खेलकुद सचिव क्या. गुरुङले जानकारी गराए ।
त्यस्तै यसपटक गोर्खा कपमा एनआरएनए युकेले निःशुल्क हेल्थ क्याम्प संचालन गर्ने भएको छ । नेपाली डाक्टर्स एशोसिएन युके र नेपाली नर्स एशोसिएशन युकेका वरिष्ठ चिकित्सकहरुद्वारा स्वास्थ्य परिक्षण गराउने भएको छ ।
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष नन्दजङ्ग गुरुङले स्वागत मन्तब्य, कोषाध्यक्ष दिपक गुरुङले कोषको बारेमा बोलेका थिए भने महासचिव कृष्ण गुरुङले बैठक संचालन गरेका थिए ।






