काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिएकी हुन् ।
नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनलाई मन्त्री पदमा सामेबार नै नियुक्त गरेकी हुन् । यसअघि उक्त मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए ।

डा तुम्वाहाङ्फे यसअघि उपसभामुख थिइन् । सभामुखको निर्वाचनका लागि मार्गप्रशस्त गर्ने क्रममा उनले गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी थिइन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसद हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित थिए । मन्त्रिगण, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, प्रधानसेनापति र अन्य सुरक्षा निकायका प्रमुख तथा सरकारका उच्च अधिकृतको पनि सो अवसरमा उपस्थिति थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ साल फागुन ३ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्को यो आठौँ हेराफेरी एवं पुनःगठन हो ।
यसैबीच नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा तुम्बाहाङ्फेले पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएपछि सिंहदरबारमा रहेको मन्त्रालयमा उनले पदभार ग्रहण गरेकी हुन् ।
पदबहालीका क्रममा मन्त्री तुम्बाहाङ्फेले संविधानले व्यवस्था गरेका मौलिक हक कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली आगामी चैत मसान्तभित्र मस्यौदा गरिसक्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए ।
सो अवसरमा उनले कानून मन्त्रालयले स्थिरता प्राप्त गरेको प्रतिक्रिया दिइन् ।
विसं २०२० मा जन्मनुभएका नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले ‘नेपालको राजनीतिमा महिला आन्दोलन’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छन् । उनले एक दशक त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा प्राध्यापन गरेकी थिइन् ।
नवनियुक्त मन्त्री फुयाँलद्वारा पदभार ग्रहण
वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आज अपराह्न मन्त्रालयमा जानु भई पदभार ग्रहण गरेका छन् ।
उनले सङ्क्षिप्त कुराकानी गर्दै प्रदेशको सुशासनको प्रवद्र्धन गर्न र विकासका पूर्वाधारलाई तीव्रताका साथ गति प्रदान गर्न आफू इमान्दारीपूर्वक क्रियाशील हुने विश्वास व्यक्त गरे ।






