७० करोडको कमिसन कान्डपछि सञ्‍चारमन्‍त्रीले बाँस्कोटाले दिए राजीनामा

SHARE:

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा बिहीबार पदबाट राजीनामा दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएलगत्तै बिहीबार ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको बताएका छन् ।

उनले ट्वीटमा भनेका छन् , “मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु ।”

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा सञ्‍चारमन्‍त्री बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी दिएका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिशन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै तत्काल उनलाई बर्खास्त गर्न माग गरेपछि सभामुख सापकोटाले सो जानकारी दिएका हुन् ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

निर्धारित समयभन्दा दुई घण्टा ढिला शुरु भएको आजको बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आसनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले काँग्रेस सचेतक पुष्पा भुसाललाई बोल्न समय दिएकी थिइन् । सांसद भुसालले सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै सोबारेमा प्रधानमन्त्रीले सदनमा आएर सत्यतथ्य जानकारी गराउनुपर्ने माग गरिन् ।

उनले भनिन्, “स्वीस कम्पनीको एजेण्ट विजय मिश्र र सञ्चारमन्त्रीबीचको संवाद आजको सञ्चारमाध्यमममा सार्वजनिक भएको छ । सञ्चारमन्त्रीले रु ७० करोड कमिसन माग गरेको घटनाले मुलुकको राजनीति तरङ्गीत भएको छ, यसमा प्रतिपक्षी दलको गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्रीज्यूले यसअघि संसद्मा भ्रष्टाचार गर्ने जोसुकैलाई कारवाही गर्छु भन्नुभएको थियो । अब प्रधानमन्त्रीले संसद्मा आएर जनतालाई आश्वस्त हुने गरी यसबारेमा जानकारी गराउनुपर्छ ।”

सञ्चारमन्त्रीको बर्खास्तीले मात्र काँग्रेस चुप लागेर नबस्ने बताउँदै सांसद भुसालले बालुवाटार जग्गा प्रकरणमा जग्गा फिर्ता गर्नेलाई कारवाही नभएजस्तो यस प्रकरण नहोस् भन्ने चेतावनीसमेत दिइन् । भुसालले सो प्रकरणबारे निष्पक्ष छानविन गरी कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दै आफ्ना माग पूरा नभएसम्म बैठक अगाडि बढाउनका लागि सहयोग गर्न नसकिने बताइन् ।

सभामुखले मन्त्री बाँस्कोटाको राजिनामा आइसकेको आफूलाई अनौपचारिक जानकारी प्राप्त भएको र बैठक सञ्चालन गर्नका लागि सहयोग गर्न पटकपटक आग्रह गरे पनि काँग्रेसका सांसदहरु उभिरहेपछि बैठक स्थगित गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १३ गते दिउँसो १ बजे बस्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!